
काठमाडौं, जेठ २७ । गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्नेगरी संसदमा दर्ता गराइएको गुठीसम्बन्धी विधेयक खारेज गर्न सरोकारवाला बुद्धिजीवीहरुले माग गरेका छन् ।
सोमबार राजधानीमा आयोजित विचार गोष्ठी कार्यक्रममा उनीहरुले विधेयक खारेज गर्नुको विकल्प नभएको बताए ।
गुठी जग्गासँग सम्बन्धित विषयमात्रै नभएको भन्दै उनीहरुले नेपालको धर्म, संस्कृति र राष्ट्रियतासँग गुठीको गहिरो सम्बन्ध रहेको बताएका छन् ।
सरकारले विधेयक फिर्ता गरेर सम्भावित विद्रोहलाई रोक्नुपर्ने भन्दै त्यसो नभएको अवस्थामा उत्पन्न हुनसक्ने परिणाम भोग्न तयार हुन पनि सरकारलाई चेतावनी दिइएको छ ।
नेपाल गुठी संरक्षण पुचःका अध्यक्ष केदारभक्त माथेमाले सरकारले गुठी चलाएर बस्ने होइन भन्दै गुठी स्थानीय समुदाय र गुठियारहरुकै जिम्मामा छाड्नुपर्ने बताए ।
गुठी नेपालको धर्म, संस्कृति र पहिचानसँग जोडिएको विषय हो भन्दै उनले लिच्छविकालदेखिको गुठी प्रणाली जोगाउन सरोकारवालाहरुलाई जिम्मा दिनुपर्ने बताए ।
कार्यक्रममा सांसद राजेन्द्र श्रेष्ठ, नेपाल भाषा मंका खलका नरेशवीर शाक्य, गुठी संस्थानका पूर्वअध्यक्ष पञ्चलाल महर्जनलगायतले गुठी संस्कृति मास्नका लागि ल्याइएको विधेयक खारेज हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्