काठमाडौं, जेठ २७ । चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार साँझ भएको फाइनलमा गन्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
आर्मीले पहिलो सेट १६–२५ ले गुमाएपनि त्यसपछिका सेट सहजै २५–८, २५–१० र २५–१६ ले जित्यो ।
अहिलेसम्मका सबै संस्करणको उपाधि जितेको आर्मीले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता गन्डकीले डेढ लाख रुपैयाँ पायो ।
सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ । पुलिसले ७५ हजार रुपैयाँ जितेको छ ।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टिमको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्