१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


मनसुन एक साता ढिलो भित्रिने


0
Shares

काठमाडौं, जेठ २७ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ ।

नेपालमा मनसुन आज अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा एक साता ढिलोगरी भित्रिने भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए ।

‘मनसुन भित्रिनका लागि जुनखालको वातवरण हुनुपर्ने हो, त्यो बनिसकेको छैन, विस्तारै बन्नेक्रममा छ’– उनले भने ।

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ । तर, अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

नेपालमा मनसुन भित्रिनका लागि दक्षिण–पूर्वी बंगालको खाडीबाट वायुमन्डलको तल्लो सतहदेखि करिब ६ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । तर, अहिले वायुमन्डलको तल्लो सतहमामात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन ।

जलवाष्युक्त हावाको वायुमन्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरु हुने मौसमविद् आर्यालले जानकारी दिए ।

मनसुन पूर्णसक्रिय हुनका लागि मनसुनी हावा वायुमन्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यूनचापीय रेखा स्पस्टसँग देखिनुपर्ने हुन्छ ।

न्यूनचापीय क्षेत्रको विकास भएर न्यूनचापीय रेखा नेपालतिर परेको हुनुपर्छ । यसका साथै उच्चचापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ ।

सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो । यस वर्ष मनसुन एक साता ढिलोगरी सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन सुरु भएको थियो ।