१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो संघर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे ।

लामो बलिदानपूर्ण संघर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए ।

उनले भने–‘जनताको विश्वासलाई मर्न नदिइ प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।’

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्यान्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुयाँलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्यान्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए ।

गैरआवासीय नेपाली नागरिक संगठन स्वीट्जरल्यान्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए । रासस