१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित


0
Shares

काठमाडौं । अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो ।

संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने  काँग्रेसको अडान थियो ।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोज्नु भए पनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।

निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्नु हुने भएपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । रासस