१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


हावाहुरीबाट घरवारविहीन भएकाहरुमा खुशीः वर्षाअघि नै नयाँ घरमा बस्न पाउने


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । गत चैतमा आएको विनाशकारी हावा–हुरीबाट घरबारविहीन भएका बारा र पर्साका बासिन्दामा केही खुसीको सञ्चार हुन थालेको छ ।

नेपाली सेनाले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा तीव्रता दिएसँगै वर्षाअघि नै आफ्नै घरमा बस्न पाइने आशामा उनीहरु खुसी भएका हुन् ।

गत चैत १७ गते आईतवार साँझ आएको भीषण आँधीहुरीका कारण पूर्ण रुपमा घर क्षतिग्रस्त भएकाहरुका लागि नेपाल सरकारले नेपाली सेनामार्फत् नयाँ घर बनाइदिने निर्णय गरेको थियो ।

सोही अनुसार बैशाख २१ गतेबाट प्रतिघर कूल ५ लाख ४६ हजारको लागतमा नेपाली सेनाले नमूना घर निर्माण गरिरहेको छ ।

कृषि र दैनिक ज्यालादारीमा आश्रित बाराका हुरीपीडित सेनाले बनाइरहेको नमुना घर हेरेर मख्ख छन् ।

फेटा गाउँपालिका पुरैनियाका मञ्जुर मिया घर सरकारले बनाइदिने भएपछि पीडामा हुँदा पनि खुसी लागेको बताउँछन् ।

निर्माणाधीन नमूना घर दुईवटा कोठा, एउटा बरन्डा र एउटा बाथरुमसहितको हुने र जुनसुकै मौसमका लागि अनुकूल हुने बताइएको छ ।

सेनाले प्रभावित तीन घरका स्थानमा एउटा–एउटा नमुना घर निर्माण गरी पहिलो चरणको निर्माण थालेको हो ।

तीन चरणमा सम्पन्न हुने अगाडि बढेको काम निर्माण सामग्री समयमा नआउँदा केही समस्या भए पनि स्थानीयबाट कुनै असहयोग नरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको भनाइ छ ।

हुरीबाट प्रभावित बाराका आठ स्थानीय तहका विभिन्न गाउँमा सेनाले १ हजार ३ सय ६३ घरहरु निर्माण गर्नुपर्ने छ ।

पहिलो चरणमा चार सय ८२ वटा घरको तीन फिटसम्म पर्र्खाल उठिसकेको छ ।

त्यसपछि  दोस्रो र तेस्रो चरणमा सम्पूर्ण घर निर्माण गर्ने गरी जनशक्ति परिचालित छ ।

निर्माणको काममा नेपाली सेना र सरकारको भूमिकाप्रति आभारी देखिएका स्थानीयवासी स्थानीय सरकारको कामप्रति भने असन्तुष्ट देखिन्छन् ।

निर्माणमा खटिएका चण्डी प्रसाद गणका मेजर हरी पाण्डेले घटनापछि उद्धारदेखी घर निर्माणसम्म स्थानीयबाट राम्रै सहयोग पाएको बताउँछन् ।

प्रदेश नं २ प्रदेश सरकारले हाबाहुरीमा ज्यान गुमाएका बाराका  २८ जनालाई प्रतिपरिवार ३ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो भने देशभरबाट सहयोग आएको थियो ।