२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


कृषि क्षेत्रमा नयाँनयाँ प्रविधि भित्रिन थालेपछि किसानलाई सहज


0
Shares

सर्लाही । कृषि क्षेत्रमा नयाँनयाँ प्रविधि भित्रिन थालेपछि किसानलाई सहज हुन थालेको छ ।

सर्लाहीका किसानले पनि आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न थालेका छन् ।

पछिल्लो समय मकै भित्र्याउन व्यस्त रहेका किसान घर–घरमै मकै छोडाउन थे्रसर आउन थालेपछि खुशी भएका छन् ।

मकै भाँच्न र घरसम्म ल्याउन कामदार अभाव भए पनि मकै छोडाउन भने घरमै थे्रसर आउने गरेकाले सहज भएको बागमती नगरपालिका–१० शंकरपुरका किसान वीरबहादुर खड्काले बताए ।

व्यावसायिक रुपमा मकै खेती हुने जियाजोर, परवानीपुर, राजघाट, शंकरपुर, हजरियालगायत क्षेत्रका किसानले धमाधम मकै भित्र्याइरहेका छन् ।

ती क्षेत्रमा अहिले मकै झार्न ट्याक्टर व्यवसायीले दर्जन बढी थे्रसर गाउँमै पुर्‍याएका छन् । थे्रसरमार्फत मकै झारेबापत किसानले प्रतिक्विन्टल ३५ रुपैयाँ तिर्नुपर्छ ।

यसरी थे्रसर लगाएर झारिएको मकै तत्कालै घरैबाट बिक्री हुने र मकै झारेर निस्किएको खोया दाउराको रुपमा प्रयोग हुने हुँदा मकै खेतीमा ठूलो राहत भएको स्थानीय बताउछन् ।

सर्लाहीमा गहुँ झार्ने थे्रसर मेसिन पहिलेदेखिनै प्रयोग भइरहे पनि मकै झार्ने थे्रसर मेसिन भने केही समययता मात्र गाउँमा पुगेको हो ।