काठमाडौं । विश्वकप क्रिकेटमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ ।
लण्डनको दि ओभल मैदानमा गएराति भएको खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई हराउँदै भारतले उपाधिमा ताजा दावेदारीसमेत दियो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५२ रन बनायो ।
धवनले ११७ रन बनाउँदा कोहलीले ८२ रन तथा रोहितले ५७ रनको योगदान दिए । बलिङतर्फ अस्ट्रेलियाका मार्कस स्टोइनिसले २ विकेट लिए ।
जवाफमा ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर ३ सय १६ रन मात्र बनाउन सक्यो ।
उसका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रन जोड्दा, डेविड वार्नरले ५६ रन तथा अलेक्स क्यारीले अविजित ५५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३–३ विकेट लिए ।
गएरातिको जितसँगै भारत अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार तीन खेल जित्दै न्यूजिल्याण्ड शीर्ष स्थानमा छ ।
इङ्ल्यान्ड, भारत र अस्ट्रेलियाको समान ४ अंक रहे पनि रनरेटको आधारमा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा छन् ।
विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दैछन् ।
चौथो खेल खेल्न लागेको दक्षिण अफ्रिका प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने वेष्ट इन्डिज तीन खेलमा दोस्रो जितको खोजीमा छ ।








प्रतिक्रिया दिनुहोस्