१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


होटलको हब बन्दै सिमरा, डेढ अर्ब लगानी थपिदैं


0
Shares

प्रकाश लम्साल

बारा, जेठ २६ । बाराको सिमरामा ठुला एवं तारे होटल खोल्ने क्रम बढेको छ । 

सिमरामा पछिल्लो समय करिब डेढ अर्ब लगानीका आधा दर्जन तारे, रिसोर्ट र स्तरीय होटल धमाधम निर्माण भईरहेका छन् भने केही संचालनको तयारीमा छन् ।

पथलैया—वीरगन्ज औद्योगिक करिडोरका औद्योगिक, पर्सा राष्ट्रिय निकुञ्ज, स्थलमार्गबाट भारत हुँदै नेपाल प्रवेश गर्ने पर्यटक र सिमरा विमानस्थल प्रयोग गर्ने पर्यटकको संख्या बढेसँगै माग बढेपछि यस क्षेत्रमा नयाँ होटल तथा रिसोर्टमा लगानी बढेको होटल तथा पर्यटन व्यवसायी महासंघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

सिमरा सेज संचालनमा आउन थालेको, काठमाडौं–निजगढ दु्रतमार्ग र निर्माणको चरणमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण थप होटल थपिने उनले बताए ।

१० करोड बढिको लगानीमा तीनतारे एयरपोर्ट सिमरा होटल असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य भईरहेको छ । पर्यटन व्यवसायी शम्भु श्रेष्ठले १३ करोडको लागतमा एसएस प्लाजा नामक तीनतारे सुविधासहितको होटल निर्माण कार्य सुरु गरेका छन् ।

यस्तै ३ करोड रुपैयाँ लगानीमा सिमरामै होटल गौतम राज, ५ करोड रुपैयाँ लगानीमा क्वीक ट्वान्टी रिभर साइड रिसोर्टलगायतका होटल र रिसोर्टहरु निर्माणाधीन छन् ।

पछिल्लो समय सिमरामा सञ्चालित चारतारेदेखि स्तरीय होटल निर्माण एवं संचालनले गति लिएसँगै आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्यसमेत सिमरा बन्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।