
काठमाडौं । तर पनि नेपाली खुसी छन् । रुवान्डा र अफगानिस्तानभन्दा मात्र होइन, भारत र चीनका नागरिकभन्दा नेपाली खुसी छन् ।
हो, ‘वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२औँ स्थानमा छ ।
संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा प्रकाशित रिपोर्टअनुसार कुल १० नम्बरमा नेपालले ५ दशमलव १३ अंकसहित ९२औँ स्थान हासिल गरेको हो । गत वर्ष नेपाल सयौँ स्थानमा थियो ।
रिपोर्टअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा अघि पाकिस्तान ६६औँ स्थानमा र माल्दिभ्स ८७औँ स्थानमा छन् ।
त्यस्तै, बंगलादेश १०७औँ, श्रीलंका १३०औँ, भारत १४४औँ, अफगानिस्तान अन्तिम अर्थात् १५३औँ स्थानमा छन् । छिमेकी चीन पनि नेपालभन्दा पछि ९४औँ स्थानमा छ ।
खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ । खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे छन् ।
यता भर्खरै केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणले ६३ प्रतिशत नेपालीले खुसी रहेको तथ्यांक पनि प्रस्तुत गरेको छ ।
१५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषका नेपालीमध्ये ज्यादै खुसी वा केही हदसम्म खुसी हुनेको औसत दर भने ६३ दशमलव ४ प्रतिशत छ । -नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्