
काठमाडौं, जेठ २५ । अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिको असर पुँजीबजारमा पर्न नहुने बताएका छन् ।
बैंकिङ प्रणालीमा तरलता बढ्दा सेयरबजारमाथि जाने बैंकिङ प्रणालीमा तरलता घट्दा सेयरबजार तल आउने गरेको भन्दै उनले मौद्रिक नीतिको छाया धितोपत्र बोर्ड हुन नहुने बताए ।
नेपाल धितोपत्र बोर्डको शनिबार राजधानीमा सम्पन्न २७औं वार्षिकोत्सवमा मन्त्री खतिवडाले नियामक निकायहरु स्वायत्त र स्वतन्त्र हुनुपर्ने उल्लेख गरे ।
उनले धितोपत्र बोर्डलाई प्रभावकारी, स्वतन्त्र बनाउने गरेर कानुन संशोधन गर्नुपर्ने पनि बताए ।
उनले ब्याजदरले पुँजीबजारलाई प्रभाव नपारोस् भन्नेतर्फ सोच्नुपर्ने बताए ।
तरलताले बजारलाई कसरी प्रभाव पार्छ भन्नेतर्फ सोच्नुपर्ने भन्दै पुँजीबजारबाट पाउने लाभ र मुद्दती निक्षेपभन्दा कति फरक छ भन्नेतर्फ पनि हेर्नुपर्ने बताए ।
ब्याजदरले पुँजीबजारमा अस्वाभाविक उतार–चढाव नआओस् भन्ने चाहेको भन्दै उनले बन्ड मार्केट र सेयरबजारलाई सन्तुलिन बनाउनुपर्ने बताए ।
बन्डको मार्केट विकसित नभएको भन्दै उनले धेरै समयपछि केही बन्डहरु जारी हुने स्थिति भएपनि बन्ड मार्केटमा केही विकृति देखिएकोसमेत बताए । यसलाई धितोपत्र बोर्डले हेर्नुपर्ने उनको भनाइ छ ।
सेयरबजारमा महिलाको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए ।
सेयरबजारमा महिलाका लागि आरक्षणअन्तर्गत् लाभकर घटाउने प्रस्ताव आए आफू सकारात्मक हुने उनले बताए ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की पुँजीबजारको विकास एवं विस्तारका लागि बोर्डले गर्दै आएका कामबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्