
काठमाडौं, जेठ २५ । गएको वैशाख २६ गते सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा सन्चारकर्मीहरुले काठमाडौंमा मानवसाङ्लोे बनाएर प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत् सन्चारकर्मीहरुले शनिबार बबरमहलदेखि माइतीघर मन्डलासम्म आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
मानवसाङ्लो बनाउनुपूर्व पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष र विभिन्न सन्चारमाध्यमका सम्पादकले सरकारले राष्ट्रियसभामा पेस गरेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एक महिनादेखि विधेयकको लगातार विरोध गर्दै आइरहे पनि सरकारले बेवास्ता गरिरहेको आरोप लगाए ।
उनले एक महिनासम्म पनि सरकारले सन्चारकर्मीहरुले राखेका मागहरुको केही सुनुवाइ नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलनको घोषण गर्ने चेतावनी दिए ।
विगतमा महासंघले पत्रकार आचारसंहिता आफैं बनाउन सफल भएको भन्दै अध्यक्ष आचार्यले सरकारले विधेयक जस्ताको तस्तै पारित गरे स्वनियमनका लागि छुट्टै काउन्सिल बनाउन पनि पछि नहट्ने बताए ।
पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले यो आन्दोलन पत्रकारकोमात्र नभइ अभिव्यक्ति स्वतन्त्रतासमेत जोडिएर नागरिक आन्दोलन बनेको बताए ।
प्रदर्शनमा सहभागी महासंघका पदाधिकारी, पूर्वपदाधिकारी र सम्पादकहरुले पनि विधेयक फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्