
-मीरा बस्नेत र नविन स्थापित(ईमेज)
काठमाडौं । छाउपडिको नाममा रजस्वला भएको समय महिलालाई घरभित्र प्रवेशसमेत बर्जित गर्ने चलन अहिले पनि पश्चिम नेपालमा कायमै छ ।
देशका अन्य भागमा पनि अवस्था यो भन्दा कम भने छैन ।
फरक यत्ति हो पश्चिममा छाउगोठ छ भने देशका अन्य भागमा छाउ विछ्यौना छ । तर दुबैमा शारिरीक र मानसिक यातना भने उस्तै छ ।
छाउगोठमा विविध कारणले महिलाको निधन भएको घटना धेरै छन् । तर मानसिक रुपमा मन भाँचिएका घट्ना भने देशैभरी छन् ।
छाउगोठका समाचार र साहित्य जति बनेका छन् त्यसको तुलनामा रजस्वलाका बेला घर घरमा हुने विभेदमा कमैले लेखेका र बोलेका छन् ।
महिलाको विशिष्ट अवस्थालाई जबरजस्ती धार्मिक र सामाजिक मान्यतासँग जोडेर अछुत जस्तो व्यवहार गर्नु नै यसको मुल कारण हो ।
तर पछिल्लो समयमा यस विरुद्ध अभियानहरु शुरु भएका छन् । सामाजिक सञ्जालमा ह्यासट्याग महिनावारी भन्ने अभियान चल्यो जुन निकै सफल पनि भयो ।
हरेक वर्ष मे २८ तारिखका दिन महिनावारी दिवसनै मनाउने गरिएको छ ।
बुकवर्म फाउण्डेसनले त रजस्वलालाई जीवनको शुरुवात भन्दै उत्वसका रुपमा मनाउने निर्णय नै गर्यो ।
गतहप्ता मनाईएको रजस्वला उत्सवले भ्रम चिर्न मद्दत गरेको फाउण्डेशनका अध्यक्ष अजित बराल बताउँछन् ।
महिनावारी एक नियमित र प्राकृतिक प्रकृया हो । महिनाबारिकै कारणले जिवन र जगतमा मानव सभ्यताले निरन्तरता पाएको छ ।
तर महिनावारीकै नाममा महिला माथि हुने विभदेले भने अझै पनि समाजमा जरा गाडेर बसेको छ ।
महिनावारीको समयमा गरिने विभेद, छुवाछुत, असमानता नेपाली समाजको गलत संस्कार हो ।
महिलालाई अपवित्र र बिटुलो भन्ने, कसैलाई छुन नहुने, पुजापाठ नचल्ने, घरभित्र पस्न नहुने भन्दै अछुत जस्तो व्यवहार गर्नु हुदैन भन्ने अभियानको मान्यता छ ।
हालै चौधरी ग्रुपले ‘महिनाबारीमा अछुत व्यवहार नगरांै माया र साथ दिउँ’ भन्दै ‘बनौं आदर्श नागरिक’ अभियाननै शुरु गरेको छ ।
यस्ता अभियानका कारण महिनावारीको बुझाईमा हजुरआमाबाट आमा र आमाबाट छोरीको पुस्तामा आउँदा केही परिवर्तन पनि भएको छ ।
तर घर घर बाटै यसको अन्त्य गर्न, बाबा आमाले बुझ्न जरुरी छ । घर भित्रै अछुत व्यवहार गर्दा कति मन कुँडिदो हो । महिनाबारी विटुलो हुनु होइन ।
पुरातन अवस्थामा रगत कसरी नियन्त्रण गर्ने थाहा नहुदा महिलाहरु एक ठाउँमा बस्न बाध्य भएका मात्र हुन् ।
अहिले प्याड प्रयोग गरेर स्वतन्त्रतापुर्वक हिड्न मिल्ने भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्