१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तीनकुने पार्कः १२ करोड ३० लाख खर्च, तर ४६ वर्षदेखि जगसमेत खनिएन


0
Shares

काठमाडौं । वरिपरि फराकिला र व्यस्त सडक अनि ठुल्ठूला बिल्डिङ । बीचमा पर्ने जमिनले कहिले पार्कको रूप पाउँछ त कहिले मोटरसाइकल र कार सिक्नेको भिड रहन्छ ।

कहिले झाडीले ढाकिन्छ, वर्षायाममा हिलो अनि हिउँदमा धुलोले भित्र पसिनसक्नु हुन्छ ।

काठमाडौं तिनकुनेबाट अरनिको राजमार्ग र चक्रपथमा आउजाउ गर्ने धेरैलाई लाग्दो हो, यहाँ किन व्यावसायिक कम्प्लेक्स नबनेका होलान् !

सरकारले पार्क बनाउन यो जमिन ४६ वर्षअघि अधिग्रहण गरेको हो । तर, त्यो सरकारी योजना मुआब्जा विवादमा जेलिएको छ ।

विभिन्न मुलुकका राष्ट्र÷सरकार प्रमुख भ्रमणमा आउँदा लाज ढाक्नकै लागि सरकारले यो जग्गालाई जस्तापाताले घेर्छ । कहिले रातारात दुबो र बोटबिरुवा रोपेर चिटिक्क बनाउँछ ।

जब भ्रमण सकिन्छ, यो ठाउँ फेरि पुरानै स्वरूपमा फर्किन्छ । पाहुना आउँदा यो ठाउँलाई सिंगार्दैमा हालसम्म डेढ करोड रुपैयाँ खर्च भएको छ । तर, पार्कको जगसमेत खनिएको छैन ।

काठमाडौंमा सम्मेलन, सभा वा विदेशी पाहुना आउँदा सहर सिंगार्ने जिम्मा महानगरपालिकाको हुन्छ । ‘पाहुनाको स्वागत, सत्कार हाम्रो संस्कृति नै हो,’ महानगरको भौतिक पूर्वाधार विभाग प्रमुख रामबहादुर थापा भन्छन्, ‘त्यस्ता विशेष कार्यक्रममा महानगरले सहर सौन्दर्यीकरण गरेको हो ।

यस्ता कार्यक्रमलक्षित गतिविधि दिगो हुँदैनन् ।’ मुआब्जा वितरण र पाहुना स्वागतमा मात्र हालसम्म १२ करोड ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

पार्कको कुल लागत एक अर्ब २३ करोड ४६ लाख हुने प्रारम्भिक अनुमान छ । अपांगमैत्री, बालबालिकालाई खेल्ने ठाउँ, ज्येष्ठ नागरिकको आराम स्थल, साइकल लेन र पैदलमार्ग बनाउने योजना छ ।

तीनवटा कुनालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानेर डिजाइन तयार भएको काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुली बताउँछन् ।

बुद्ध प्रतिमासम्म पुग्न १२ वटा प्रवेशद्वार रहनेछन् । सडक, त्यसपछि साइकल ट्र्याक, फाउन्टेन र हरियाली पार्क निर्माण हुने नक्सा तयार भएको छ ।-नयाँ पत्रिका दैनिकबाट