१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


आधा घन्टाको हावाहुरीले जनजीवन तहसनहस (भिडियो)


0
Shares

बिराज रोस्यारा र दुर्गा उपाध्याय (इमेज)

कैलाली, कन्चनपुर, जेठ २४ । कैलाली र कन्चनपुरमा बिहीबार राति आएको विनाशकारी हावाहुरीले दुईजनाको मृत्यु भएको छ । कैयौं व्यक्ति घाइते भएका छन् ।

आधा घन्टासम्म चलेको हावाहुरीले ठूलो वितन्डा मच्चाएको भएपनि क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

बिहीबार साँझ एक्कासि आएको हावाहुरीले कैलाली र कन्चनपुरकोे जनजीवन तहसनहस बनाएकोे छ ।

कैलालीमा घाइते भएका ७६ मध्ये ६७ जना उपचारपछि घर फर्किएका छन् भने कन्चनपुरमा घाइते भएकाहरुलाई घर पठाइएको छ ।

हुरीले हजारौं घरका छाना उडाएको छ त कतै ठूला रुखहरु ढल्दा सडक अवरुद्ध भएका छन् ।

यस्तै, विद्युत्का पोलहरु पल्टँदा कैलाली, कन्चनपुरलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामासमेत विद्युत् अवरुद्ध भएको छ । कृषकले लगाएको बालीनालीमासमेत क्षति पुगेको छ ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भौतिक क्षतिको विवरण संकलन र राहत वितरणको काम भइरहेको बताए ।

आधा घन्टासम्म हावाहुरीले वितन्डा मच्चाउँदा कैयौं परिवारको बिचल्ली भएको छ ।

हुरीसँगै आएको वर्षाले खाद्यन्न भिजेकाले तत्काल राहतको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ ।

हावाहुरीले सबैभन्दा बढी क्षति कैलालीको धनगढी उपमहानगरपालिकामा गरेको छ ।

धनगढी उपमहानगरपालिकास्तरीय नगर राहत तथा उद्धार समितिको बैठकले बढी क्षति भएका बस्तीमा ‘मेस’ सन्चालन गरेर खानाको व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले मानवीयभन्दा भौतिक क्षति बढी भएकाले त्यसको तथ्यांक संकलन गरिरहेको जनाएको छ ।

यता, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले क्षतिको यकिन विवरण आएपछि राहतको काम अगाडि बढ्ने जानकारी दिए ।

हावाहुरीका कारण कैलाली, कन्चनपुरमा व्यापक भौतिक क्षति भएपनि प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक भने अझै बस्न सकेको छैन ।

भिडियो हेर्नुहोस्