
रमेश गिरी (रासस)
भक्तपुर, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने–‘रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ । यो कार्यक्रम त्यसैको एउटा नमुना हो ।’
यो महाअभियानको भव्य सुरुआत भएको बताउँदै उनले यो कुनै गोष्ठी नभइ कामबाटै सुरु भएको अभियान भएको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताए ।
काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिने बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान् अभियानको एउटा दृष्टान्तकारुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको चर्चा गर्दै देशमा अब कोहीपनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सन्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले सुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने–‘अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।’
मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उनले हिंसा र आतंकतर्फ लागेका तत्वहरु सफल नहुने बताए ।
प्रधानमन्त्री ओलीले २०४ वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्र फेरि चाहियो भन्ने ‘मूर्ख’समेतको केही नलाग्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सुवर्णचोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै चालू आर्थिक वर्षमा आंशिकरुपमा यो कार्यक्रम सन्चालन भएपनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थितरुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सन्चालन गरिने जानकारी दिए ।
उनले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको बताए ।
प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले यो कार्यक्रमका लागि भक्तपुरका चारओटा नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट पठाएको उल्लेख गर्दै आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गर्ने बताए ।
सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाको तथ्यांकअनुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिँदै उनले कृषिमामात्रै १२ लाख, भवन निर्माणको क्षेत्रमा सात लाखभन्दा बढी युवालाई रोजगार दिनसकिने बताए ।
प्रदेश नम्बर–३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव महेश्वर दाहाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले यो कार्यक्रमबाट जिल्ला–जिल्लामा रोजगारीको ढोका खुलेको चर्चा गरे ।
यो कार्यक्रमबाट भक्तपुरका करिब ७५० बेरोजगार युवाले रोजगारी पाएका छन् । करिब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए ।
मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त दस्ताले आजै सडक खनेर कामको सुरुआत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्