१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


छाउगोठ वा छाउ बिछ्यौनाका पीडा उस्तै


0
Shares

मीरा बस्नेत र नवीन स्थापित (इमेज)

काठमाडौं, जेठ २४ । छाउपडीको नाममा रजस्वला भएको समय महिलालाई घरभित्र प्रवेशसमेत वर्जित गर्ने चलन अहिले पनि पश्चिम नेपालमा कायमै छ ।

तर, देशका अन्य भागमा पनि अवस्था योभन्दा कम भने छैन ।

फरक यत्ति हो, पश्चिममा छाउगोठ छ भने देशका अन्य भागमा छाउ बिछ्यौना छ । तर, दुवैमा शारीरिक र मानसिक यातना भने उस्तै छ ।

छाउगोठमा विविध कारणले महिलाको निधन भएको घटना धेरै छन् । तर, मानसिकरुपमा मन भाँचिएका घटना भने देशैभरि थुप्रै छन् ।

छाउगोठका समाचार र साहित्यजति बनेका छन्, त्यसको तुलनामा रजस्वलाका बेला घरघरमा हुने विभेदमा कमैले लेखेका र बोलेका छन् ।

महिलाको विशिष्ट अवस्थालाई जबर्जस्ती धार्मिक र सामाजिक मान्यतासँग जोडेर अछूतजस्तो व्यवहार गर्नु नै यसको मूल कारण हो । तर, पछिल्लो समयमा यसविरुद्ध अभियानहरु सुरु भएका छन् ।

सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ #महिनावारी भन्ने अभियान चल्यो । जुन निकै सफल पनि भयो ।

हरेक वर्ष मे २८ तारिखका दिन महिनावारी दिवस नै मनाउने गरिएको छ । बुकवर्म फाउन्डेसनले त रजस्वलालाई जीवनको सुरुआत भन्दै उत्वसकारुपमा मनाउने निर्णय नै गर्‍यो ।

गत हप्ता मनाइएको रजस्वला उत्सवले भ्रम चिर्न मद्दत गरेको फाउन्डेसनका अध्यक्ष अजित बराल बताउँछन् ।

महिनावारी एक नियमित र प्राकृतिक प्रक्रिया हो । महिनावारीकै कारणले जीवन र जगतमा मानव सभ्यताले निरन्तरता पाएको छ ।

तर, महिनावारीकै नाममा महिलामाथि हुने विभेदले भने अझैपनि समाजमा जरा गाडेर बसेको छ । महिनावारीको समयमा गरिने विभेद, छुवाछूत, असमानता नेपाली समाजको गलत संस्कार हो ।

महिलालाई अपवित्र र बिटुलो भन्ने, कसैलाई छुन नहुने, पूजापाठ नचल्ने, घरभित्र पस्न नहुने भन्दै अछूतजस्तो व्यवहार गर्नुहुँदैन भन्ने अभियानको मान्यता छ ।

हालै चौधरी ग्रुपले ‘महिनावारीमा अछूत व्यवहार नगरौं, माया र साथ दिऊँ’ भन्दै ‘बनौं आदर्श नागरिक’ अभियान नै सुरु गरेको छ ।

यस्ता अभियानका कारण महिनावारीको बुझाइमा हजुरआमाबाट आमा र आमाबाट छोरीको पुस्तामा आउँदा केही परिवर्तन पनि भएको छ ।

तर, घरघरबाटै यसको अन्त्य गर्न, बाबाआमाले बुझ्न जरुरी छ । घरभित्रै अछूत व्यवहार गर्दा कति मन कुँडिदो हो ।

महिनावारी विटुलो हुनु होइन । पुरातन अवस्थामा रगत कसरी नियन्त्रण गर्ने थाहा नहुँदा महिलाहरु एक ठाउँमा बस्न बाध्य भएकामात्र हुन् । अहिले ‘प्याड’ प्रयोग गरेर स्वतन्त्रतापूर्वक हिँड्न मिल्ने भइसकेको छ ।