पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाले ग्वल सभ्यता मास्ने भन्दै स्थानीय आन्दोलित (भिडियो) • Image Khabar Image Khabar


पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाले ग्वल सभ्यता मास्ने भन्दै स्थानीय आन्दोलित (भिडियो)


Imagekhabar
१२ श्रावण २०७७, सोमबार १९:५७

pashupati

नरेन्द्र मानन्धर र सानु माली (इमेज)
काठमाडौं, साउन १२ । हजारौं वर्ष पुरानो सभ्यता जोगाउन स्थानीयबासीको महत्वपूर्ण हात हुन्छ ।

तर, विश्वमा नै नेपालको एक पहिचान बोकेको र सनातन धर्मको केन्द्र पशुपति क्षेत्र विकासको नाममा सभ्यता मास्ने षड्यन्त्र भइरहेको स्थानीयले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषको पछिल्लो सयवर्षे गुरुयोजनाले सो क्षेत्रमात्र होइन, नेपाल पहिचान मासिने भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

हजारौं वर्षदेखिको सनातन धर्मको आस्थाको केन्द्र हो, लुकुमाद्यो आजु अर्थात् पशुपतिनाथ मन्दिर । यही मन्दिरका कारणले ग्वल सभ्यताको विकास भएको छ ।

यहाँ रहेका नौ जातको समन्वयले आजसम्म जसोतसो यो सभ्यतालाई बचाउँदै आएको छ ।

तर, पशुपति क्षेत्र विकास कोषको पछिल्लो सयवर्षे गुरुयोजनाले यो सभ्यता मासिने सम्भावना बढेको छ ।

यो योजना कार्यान्वयन भए स्थानीयहरुको उठीबास हुनुका साथै यहाँको अस्तित्व नै संकटमा पर्ने जनाइएको छ ।

गुरुयोजनाअन्तर्गत् तीन चरणमा ५५ ओटा योजना कार्यान्वयन गरिने उल्लेख छ । जसमा अहिलेको आर्यघाट हटाउने, ब्रम्हनाल सार्ने, पशुपति क्षेत्रदेखि सिफल र चाबहिलसम्म नयाँ संरचनाहरु निर्माण गर्ने रहेका छन् ।

स्थानीय बासिन्दा जलदराज वैद्य नयाँ संरचना बनाउनु भन्नुको अर्थ नै सो क्षेत्रको बस्ती हटाएर स्थानीयलाई विस्थापित गर्नु रहेको बताउनुहुन्छ ।

स्थानीयलाई नै विस्थापित गरेर कस्तो विकास गर्न खोजेको हो ? उहाँको प्रश्न छ ।

कोषले भने पशुपतिको संरक्षण गर्नलाई नै गुरुयोजना ल्याएको दाबी गरेको छ । यसको लागि ३३ अर्ब खर्च हुनसक्ने कोषकोे अनुमान छ ।

कोषले गुरुयोजना प्रस्ताव मन्त्रिपरिषद्मा लगेर पारित गर्ने तयारी गरेपनि स्थानीयको विरोधका कारण हाल भने रोकिएको जनाइएको छ ।

कोषले स्थानीयलाई वार्ताका लागि बोलाएतापनि उनीहरुले वार्ता बहिस्कार गर्दै योजना नै फिर्ता लिन माग गरिरहेका छन् ।

ग्वल सभ्यतासँग कुनै साइनो र आस्था नै नभएका व्यक्तिहरु कोषमा रहेका कारण यस्ता समस्याहरु आएको उनीहरुको भनाइ छ ।

चारवर्षे कार्यकालमा उनीहरुले पैसा कमाउनेबाहेक यस क्षेत्रको विकासमा सिन्को पनि नभाँचेको आरोप लगाउँदै वैद्यले पदाधिकारीहरुको राजीनामा समेत माग गर्नुभएको छ ।

नेपालको पशुपतिनाथको ग्वल सभ्यतालाई नष्ट गर्दै साँस्कृतिकरुपमा भारतीयकरण गर्न खोजेको उहाँको आरोप छ ।

यस क्षेत्रमा विश्व सम्पदा क्षेत्रको मान्यताविपरीत कुनैपनि किसिमको योजना ल्याउन खोज्नु यहाँको मौलिक पहिचानलाई नष्ट गर्नु रहेको उनीहरुको जिकिर छ ।

हजारौं वर्षदेखिको मौलिक पहिचान बोकेको सभ्यताको संरक्षण गरी विकास गर्नु आवश्यक छ । तर, पहिचान नै नष्ट हुने विकासतर्फ भने सबै सचेत हुन आवश्यक देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्