१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


काठमाडौंमा बालगृहहरुको विजोगः सरकारी रकमले पुग्दैन, दाताको भर नपरी चल्दैन् (भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी/ईमेज

काठमाडौं । देशका विभिन्न स्थानमा दिनहुँ जसो बेवारिसे शिशु भेटिने गरेका छन् । त्यस्ता शिशुसहित अभिभावकविहीन बालबालिकालाई बालगृहमा आश्रय दिने गरिएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाको पहलमा स्थापना भएका बालगृहको अवस्था भने नाजुक छ । सरकारले नै काठमाडौंमा संचालन गरेको बालमन्दिरको अवस्था पनि उस्तै छ ।

काठमाडौंको चावहिलमा कन्टेनरमा फालिएको अवस्थामा भेटिएकी सोफीलाई बालमन्दिरमा ल्याएर राखिएको पाँच महिना मात्र भएको छ ।

उनका कन्टेनरमा फाल्ने निर्दयी बाबुआमाको टुंगो लागेको छैन । अबोध सोफी अहिलेसम्म बालमन्दिरकै शरणमा छिन् । सोफी जस्तै ९० जना बालबालिका बाल मन्दिरको संरक्षणमा छन् ।

तर बालमन्दिरको अवस्था भने दयनीय बन्दै गएको छ । यहाँ पुग्नेहरु बालबालिकाको अवस्था देखेर मन दुःखाउँदै फर्कने गरेका छन् ।

ऐश्वर्य बालगृहमा संरक्षित बालबालिकाको अवस्थाबारे ईमेज च्यानलले समाचार सार्वजनिक गरेपछि संसद्को महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिको बैठकले देशभरका सबै बालगृहको अवस्था सुधार गर्न निर्देशन दिएको थियो ।

तर, सरकारी स्वामित्वकै बालगृहको अवस्था हेर्दा सुधारको कुनै संकेतसम्म देखिएको छैन ।

२०२१ सालदेखि सञ्चालनमा रहेको यो बालमन्दिर निकै जीर्ण बनेको छ । २०७२ सालको भूकम्पले थिलथिलो बनाएको यो बालमन्दिरको पुनर्निर्माणमा अहिलेसम्म सरकारले पहल गरेको छैन । बालमन्दिर लथालिंग छ ।

यहाँ शरण लिन पुगेका बालबालिकाको स्वास्थ्य, शिक्षा र गासवासको उचित व्यवस्थापन हुन सकेको छैन ।

सरकारले बालमन्दिरका लागि छुट्याएको रकम नै अपुग भएपछि दातासँग हात पसार्नुपर्ने बाध्यता छ ।

बालमन्दिरका लागि सरकारले आर्थिक वर्ष २०७२/७३ मा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर आगामी आर्थिक वर्षका लागि २५ लाख रुपैयाँ मात्र छुट्याएको छ ।

यसले देशभर बाल संगठनमा संरक्षित बालबालिकाको लालनपोषण गर्नुपर्ने बाध्यताका कारण समस्या परेको बालमन्दिरका निर्देशक बालकृष्ण डंगोल बताउँछन् ।

अनाथ बालबालिकाको लालनपालन र शिक्षादीक्षाका लागि सरकारी रकम अपुग भएपछि दातासँग हात पसार्न बाध्य हुनु परेको डंगोलको भनाइ छ ।

बालमन्दिर मात्र होइन, कैदी जीवन बिताइरहेका अभिभावकका बालबालिकालाई राखिँदै आएको बाल संरक्षण गृहको अवस्था पनि उस्तै छ ।

यहाँ संरक्षित बालबालिकाले दिनमा १५ रुपैयाँ खाजा खर्च र २ सय ग्राम चामल पाउँदै आएका छन् ।

२०५२ सालमा बनाइएको नियमअनुसार अहिलेसम्म पनि सोही रकम उपलब्ध गराउँदा संरक्षित बालबालिकाको पालनपोषणमा समस्या पर्ने गरेको बाल संरक्षण गृहका प्रमुख दानबहादुर बस्नेतको भनाइ छ ।

बालबालिका भविष्यका कर्णधार हुन् । हुने खानेका छोराछोरीको भविष्य उज्ज्वल बनाउनेतर्फ अभिभावक सधैं चिन्तित हुने गरेका छन् ।

यद्यपी जन्मैदेखि आमाबुबाको काख खोसिएका बालबालिकाको हेरचाह गर्ने जिम्मा सरकारको भए पनि त्ससतर्फ उचित ध्यान नदिँदा उनीहरुको भविष्य झन् अन्धकारमा धकेलिँदै गएको छ ।