१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


प्रसिद्ध शक्तिपीठ गढीमाईको पूर्वाधार विकासमा वेवास्ता, दर्शनार्थीलाई सास्ती


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । विश्वमै सबैभन्दा बढी पशुबली दिइने शक्तिपीठ मानिएको बाराको गढीमाई पूर्वाधारविहीन जस्तै बनेको छ ।

नेपाल र भारतबाट दैनिक हजारौं दर्शनार्थी आउने गढीमाईको पूर्वाधार विकासमा राज्यले चासो नदिँदा समस्या भएको छ ।

हरेक पाँच वर्षमा लाग्ने बाराको गढीमाइ मेला यस वर्ष मंसिर महिनामा लाग्दैछ ।

धार्मिक पर्यटक भित्र्याउने गतिलो आधारका रुपमा रहेको गढीमाइमा दर्शनार्थीको बसोबास, पानी, शौचालय, धार्मिक कार्यस्थल तथा सञ्चारलगायतका पूर्वाधार नहुँदा भक्तजनहरुलाई समस्या परेको छ ।

यस मन्दिरको दर्शन गरी देवीलाई प्रसन्न बनाए इच्छाइएको कामना पुरा हुने विश्वासमा यहाँ यस्तो घुइँचो लाग्ने गर्दछ ।

क्रुर बलि दिने प्रचलनको विरोध भएपछि चौतर्फी विश्वभर चर्चामा आएको यस पीठमा पशुबली चढाएको रगतमा झिँगा नलाग्नु, बलि सुरु हुनुपूर्व दियोमा आपरूपी बत्ती आफै बल्नु र मानवसहित पञ्चबलिमा सेतो मुसा आफैँ उपस्थित हुनुलाई साक्षात देवीको रुपमा लिइँदै आइएको छ ।

तर भक्तजनको लागि बास गासको प्रबन्ध नहुँदा हतारहतारमा पूजा गरेर फर्किहाल्नुपर्ने बाध्यता छ । सरकारले यस क्षेत्रको विकासका लागि खासै चासो नदेखाएको दर्शनार्थी बताउँछन् ।

धर्मशाला, विवाह मण्डप, होटल, लज शौचालय, तथा फोहोर व्यवस्थापनको समस्या ठूलो टड्कारोका रुपमा देखिएको छ ।

गढीमाइ मन्दिर सञ्चालन तथा विकास समितिका सचिव मोतीलाल कुशवाह सरकारी निकायको वेवास्ताका कारण समितिमा १५ आँै वर्ष बस्दासमेत प्रगति नभएको गुनासो गर्छन ।

उसो त यस क्षेत्रको विकासको लागि बृहत गढिमाईको गुरुयोजना बनेको समेत दशौ बर्ष भइसक्यो मन्दिरपरिसरका तमाम समस्या ज्यूँकात्यूूँ छन् ।

गढीमाईका मुल पुजारी मंगल चौधरी आजसम्म गढीमाईलाई सम्झेर भाकल गरेको हरेकको इच्छा पूरा भएको गढीमाईको दर्शन गर्न भारतीय, नेपाली बाहेक विदेशी पर्यटकसमेत घुम्न आउने गरेको बताउँछन् ।

अथाह पर्यटकीय संभावना बोकेको यस क्षेत्रको विकास गर्नको लागि स्थानीय र केन्द्रिय सरकारले पहल गर्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्