
सर्लाही । सर्लाहीमा भारत सरकारको सहयोगमा निर्माणाधीन दुईवटा विद्यालय भवन र २० वटा सामुदायिक भवनको निर्माण रोकिएको छ ।
साविकको जिल्ला विकास समितिमार्फत निर्माण सुरु गरिएका भवन केही समय स्थानीय तहले बनाउने की जिल्ला समन्वय समितिमार्फत बनाउने भन्ने विषय नटुङ्गिँदा अलपत्र परेका हुन् ।
बलरा नगरपालिका–११, छतौनामा रहेको सुधा राजेश्वर माध्यमिक विद्यालय र कविलासी नगरपालिका–२, पिपरियामा रहेको वालगोबिन्द माध्यमिक विद्यालयको भवन निर्माण कार्य एक वर्षदेखि अघि बढ्न सकेको छैन ।
सम्पन्न गरेको कामको भुक्तानी नपाएको भन्दै विद्यालय भवन र सामुदायिक भवन निर्माणको जिम्मा पाएका बेग्लाबेग्लै ठेकेदारले काम अघि बढाएका छैनन् ।
लामो समयदेखि निर्माण कार्य रोकिँदा बनिसकेका संरचनासमेत जीर्ण बन्न थालेको र निर्माण सामग्रीसमेत चोरी भएको स्थानीयवासीको भनाइ छ ।
नयाँ विद्यालय भवन नबन्दा सुधा राजेश्वर माध्यमिक विद्यालय छतौनाको पठनपाठन प्रभावित भएको छ ।
कक्षा १, २ र ३ का विद्यार्थीलाई पुरानो भवनको एउटै कोठामा राखेर पढाउने गरिएको छ ।
छतौनामा १८ महिनाभित्र २६ कोठे विद्यालय भवन निर्माण पुरा गर्नेगरी २०७१ साल कात्तिक १६ गते तत्कालिन भारतीय राजदूत रणजीत रायले निर्माण कार्यको शिलान्यास गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक पे्रमेन्द्र ठाकुरले साविकको जिल्ला विकास समिति खारेज भएसँगै ठेकेदारले काम रोकेको बताए ।
प्रतिक्रिया दिनुहोस्