१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुई जनाको मृत्यु


0
Shares

कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।

हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् ।

हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ ।

हावाहुरी चलेका बेला मोटरसाइकलमा सवार वीरबहादुरको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

त्यस्तै पोल्ट्री फार्ममा काम गरिरहँदा हावाहुरीले पर्खाल खसालेपछि त्यसले थिचेर लाहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएको जानकारी आएको बताए । 

घाइतेहरुको सेती अञ्चल अस्पताल, पद्मा अस्पताल अत्तरिया र निसर्ग अस्पताल हसनपुरलगायतका ठाउँमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनालाई उप उपचारका लागि भारत पठाइएको छ ।

हिजो साँझ आधा घण्टासम्म एक्कासी आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको हो ।

कयौं घरका छाना हावाहुरीले उठाएको छ भने कतिपय स्थानमा रुढ ढल्दा बाटो अवरुद्ध हुनुका साथै विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

कृषकले लगाएको बालीनालीमा समेत क्षति पुगेको छ । हावाहुरीले दाङ, कपिलवस्तु र रुपन्देहीमा पनि प्रभाव पारेको छ ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) ले पश्चिमबाट सुरु भएको हावाहुरी मध्य तथा पूर्वी क्षेत्रमा सरेको जनाएको छ ।

एनईओसीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पनि आज बिहानै हावाहुरी र मेघगर्जनसहित वर्षा भएको छ ।

बिहान ५ बजेदेखि नै आकाशमा बादल मडारिएर हावाहुरीसहित वर्षा भएको हो ।

काठमाडौं हुँदै हावाहुरीको प्रभाव पूर्वी क्षेत्रतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।