
बारा, जेठ २३ । मापदन्डविपरीत अवैधरुपले सन्चालित ९ ओटा पेट्रोलपम्पलाई जिल्ला प्रशासन कार्यालय बाराले बन्द गराएको छ ।
उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्नेदेखि दशगजानजिक भारततर्फ तस्करी गर्ने र सार्वजनिक तथा सडकको जग्गामा सन्चालित गरेको भन्दै पेट्रोलपम्पलाई प्रशासनले बन्द गराएको हो ।
बन्द गरिएका पेट्रोलपम्पहरुमा राजमार्गछेउका ६ ओटा, दशगजाछेउका दुईओटा र बाराको सदरमुकाम कलैया नगरपालिकाभित्रको एउटा रहेको प्रशासन कार्यालयले जनाएको छ ।
बन्द गरिएका सबै पेट्रोलपम्पहरुलाई नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगन्जबाट इन्धन आपूर्तिमासमेत रोक लगाइएको छ ।
राहुल आयल स्टोर, कतारुका अटोमोबाइल्स, अपना आयल स्टोर, अटोकेयर सेन्टर, तराई पेट्रोलियम, चित्रगुप्त आयल, आयुष आयल स्टोर र अमन एन्ड सुमन आयल स्टोर र जगदम्बा आयल स्टोरलाई प्रशासनको आदेशमा आयल निगमको अमलेखगन्ज डिपोले इन्धन आपूर्ति बन्द गरेको डिपोका प्रवक्ता मनोकामना तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस्