करोडौं खर्चिँदा पनि माइखोला सडकखण्ड भासिन छाडेन, सडकको स्थायित्व माथिनै प्रश्न • Image Khabar Image Khabar


करोडौं खर्चिँदा पनि माइखोला सडकखण्ड भासिन छाडेन, सडकको स्थायित्व माथिनै प्रश्न


Imagekhabar
११ श्रावण २०७७, आईतवार ०९:२२

करोडौं खर्चिँदा पनि माइखोला सडकखण्ड भासिन छाडेन, सडकको स्थायित्व माथिनै प्रश्न

-प्रकाश नेपाल /इमेज
इलाम । पाँच करोडभन्दा बढी खर्च गरिएपनि मेची राजमार्गको इलाम माइखोला सडकखण्ड भासिने क्रम रोकिएको छैन ।

भासिने क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भए पनि सडकको स्थायित्वमाथि नै प्रश्न खडा भएको छ ।

हरेक वर्षको वर्षातमा झै यो वर्ष पनि मेची राजमार्गको इलाम माईखोला खण्ड भासिन थालेको छ । राजमार्गको माईखोला खण्डमा भासिएको सडक बनाउन रक एङ्करिङ्ग प्रबिधिबाट काम गरिएपनि अझै रोकिन सकेको छैन ।

सडक भासिने क्रम रोक्न ३२ एमएमको २५ मिटर लामो रडको एङ्करिङ्ग गरिएको थियो । ५ करोड ९९ लाख खर्च गरि सडकको तीन खण्डमा एङ्करिङ्ग गरिएपनि सदाझै यसपटक पनि सडक भासिएको छ ।

सडक भासिएपछि सडक डिभिजन कार्यालय इलामले ग्राभेल लगाएर यातायात संचालनमा ल्याएको छ ।

२०७२ असार २० मा संझौता भइ २०७६ असारमा एङ्करिङ्ग गर्ने काम सकिएपनि यातायात अवरुद्ध हुनेगरि सडक भासिने गरेकोले समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ ।

सडक विभागले अध्ययन गरि एङ्करिङ्गको काम गरिएपनि भासिने क्रम नरोकिएपछि पुनः अध्ययन गर्न विभागलाई अनुरोध गरिएको सडक डिभिजन कार्यालय इलामका सुचना अधिकारी विरेन्द्र कुमार यादबले बताउनुभयो ।

पुरानो कामबाट सडक भासिने क्रम रोक्न सहयोग गरेको भएपनि समस्या अझै भएकाले थप अध्ययन गर्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

एङ्करिङ्गसँगै हरेक वर्ष सडक डिभिजनबाट मर्मत भएपनि माईखोला गोलाखर्क खण्डको दर्जनौ स्थानमा दबिने गरेका छन् ।

भासिने क्रम नरोकिएपछि सरकारको हरेक वर्ष मर्मतका लागि धेरै खर्च हुने गरेको छ । २०५३ सालदेखि भासिन सुरु गरेको सडकको माइ खोलाको माथिल्लो खण्डको २ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त हुने गरेको हो ।

सडक क्षतिग्रस्त हुने गरेकाले यातायात व्यवसायीले राम्रो अध्ययन गरि मर्मत गर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्