२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चिनियाँ राष्ट्रपति सीद्वारा रुसी समकक्षी पुटिनको प्रशंसा


0
Shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई निकटको मित्र भन्दै प्रशंसा गरेका छन् ।

मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति सीले पुटिनलाई ३० भन्दा बढी पटक भेटिसकेको भन्दै आफुहरुबीच आफ्नो गहिरो व्यक्तिगत मित्रता रहेको बताएका हुन् ।

अमेरिकासंग व्यापारिक युद्ध चर्किरहेका बेला चिनियाँ तीन दिने रुस भ्रमणमा छन् ।

रुसी राष्ट्रपति पुटिनले रुस र चीनको सम्बन्ध अभूतपूर्व तहमा पुगेको भन्दै खुशी व्यक्त गरे ।

दुई मुलुकको सम्बन्ध संसारभरिका लागि साझेदारी र रणनीतिक सहकार्य भएको उनको भनाइ छ । दुई नेताले भविष्यमा सैन्य र आर्थिक सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमण चीन र रुसबीच व्यापारलगायका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

दुई मुलुकबीच व्यापारिक सहमतिमा हस्ताक्षर भएको छ भने सीले मस्कोस्थित चिडियाखानालाई दुईवटा पान्डा उपहार दिएका छन् ।

युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि पश्चिमाहरुसंग रुसको सम्बन्ध बिग्रिएको छ भने पूर्वी राष्ट्रहरूसँग सम्बन्ध सुधारको प्रयास गरेको छ । 

अमेरिकासंगको सम्बन्ध बिग्रिएपछि चीन र रुस आर्थिक र सैन्य सहकार्यका लागि नजिकिएको विश्लेषण समेत हुन थालेको छ ।

पछिल्लो साझेदारीका कारण उनीहरुको व्यापारमा पनि वृद्धि भएको छ । सन् २०१८ मा व्यापार २५ प्रतिशतले बढेर १०८ अर्ब डलर पुगेको थियो ।(एजेन्सी)