
काठमाडौं । डोल्पाको पाटनमा यो बर्ष मात्रै यार्सा संकलन गर्न गएका आठ जना यार्सा सङ्कलकको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् ।
यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिकाका गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ ।
यस्तै जुम्लाका जयकृष्ण पाण्डे, डोल्पाका बुद्धीकुमारी कार्की, जाजरकोटका रमेश चलाउने त्यसैगरी जाजरकोटकै कृष्ण विकको मृत्यु भएको हो ।
उता रुकुमपश्चिमका कृष्णबहादुर शाही, डोल्पाकी धनकला बुढा र कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
सदरमुकाम दुनैभन्दा कोषौ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो ।
यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएको भए पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।
आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्