
-टेकराज अवस्थी/ईमेज
डडेल्धुरा । तरकारीमा विभिन्न विषादीहरुको बढ्दो प्रयोगले उपभोक्ताको स्वास्थ्य ठूलो जोखिममा पार्न थालेको छ ।
छिटो र धेरै उत्पादन गर्ने हेतुले मापदण्डविपरीत औषधि र विषादी प्रयोग गर्दा जटिल किसिमका रोगहरुको जोखिम बढेको हो ।
ताजा तरकारीका लागि प्रसिद्ध सुदुरपश्चिमको पहाडि जिल्ला डडेल्धुरामा पछिल्लो समय तरकारीमा विषादीको प्रयोग अत्याधिक हुन थालेको छ ।
पर्याप्त ज्ञानको अभाव तथा धेरै फलाउने अभिप्रायले कृषकहरुले मनपरी विषादीको प्रयोग गर्न थालेपछि तरकारी विषयुक्त बनेको हो ।
किरा र रोगबाट बचाउनका लागि भन्दै प्रयोग गरिएको बिषादीका कारण किसानहरु स्वयं तथा उपभोक्ताहरु दिनहुँ मन्द विष सेवन गर्न बाध्य भएका छन ।
अर्कोतिर विषादी मापनको प्रयोगशाला सुलभ नहुँदा पनि त्यसको जथाभावी प्रयोगको पहिचान गर्न कठिन भइरहेको कृषि विकास अधिकृत दिलबहादुर विष्टको भनाइ छ ।
आलु, गोलभेंडा, काउली, भ्यान्टा, सिमी, काँक्रा,लौकालगायतका दैनिक उपभोग्य तरकारीबालमिा किसानले कडा खालको विषादी प्रयोग गर्दै आएका छन् ।
तरकारी बालीमा प्रयोग भईरहेको विषादीले मानवशरीरमा पार्न सक्ने असर डरलाग्दो भएको अगुवा कृषक सीताराम जोशी बताउँछन् ।
विषादीयुक्त तरकारी खाँदा मुटु, स्वासप्रश्वास, मृगौला, छालासम्बन्धी समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।
कतिपय किसानहरुले असर थाहा नपाउँदा विषादीको बढी प्रयोग गरेका छन् भने कतिपयले जानीबुझीकन पनि लोभका कारण लापरबाही गरेका छन् ।
बढी उत्पादनका साथै कीरा तथा रोगब्याधि रोक्ने नाममा भइरहेको अत्यधिक विषादी प्रयोग रोकी किसानलाई अग्र्यानिक तरकारी तथा फलफुल उत्पादन गर्नतर्फ उत्प्रेरित गराउन सम्बन्धित निकायको ध्यान जरुरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्