१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


डा. केसीलाई समर्थन गर्न नेविसंघको टोली जुम्लामा


0
Shares

कृष्ण बोहोरा (इमेज)

जुम्ला, असार ३० । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत् डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्न नेपाल विद्यार्थी संघका प्रतिनिधि जुम्ला आएका छन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी, महामन्त्री कुन्दनराज काफ्लेलगायतको टोलीले शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगी डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

डा. केसीले आफ्नो व्यक्तिगत स्वार्थका लागि नभइ आमनेपाली जनाता र विद्यार्थीका लागि लडिरहेकाले नेपाल विद्यार्थी संघले पनि ऐक्यबद्धता जनाएको उपाध्यक्ष अधिकारीले बताए ।

‘आइतबार जुम्लामा बृहत् विरोधसभा र धर्नालगायतका कार्यक्रमहरु गर्नेछौं’–उनले भने–‘डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदासमेत सरकारले कुनै वास्ता गरेको छैन ।’

‘मार्सी चामलको भात खाएर मेडिकल कलेज खोल्न अनुमति दिने आश्वासन दिएको’ सरकारले मार्सी चामल पाइने ठाउँमा डा. केसी १५ दिनदेखि भोकभोकै बस्दासमेत सरकारले कुनै चासो नदिएको महामन्त्री काफ्लेले आरोप लगाए ।

डा. केसीको स्वास्थ्य अत्यन्त जटिल 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सघनकक्षमा १५ दिनदेखि अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल बन्दै गएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएपनि डा. केसीले आफ्नो स्वास्थ्य चेकजाँच गराउन मानेका छैनन् ।

सत्याग्रह सुरु गरेको लामो समय हुँदा पनि सरकारले चासो नदेखाएको भन्दै उनले स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् ।

शुक्रबार साँझदेखि डा. केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल बन्दै गएको छ’–उनले भने–‘शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्यून रहेको र मष्तिस्कमा रक्तसन्चार निकै कम रहेको छ ।’