Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


विश्वकप क्रिकेटमा भारतको शानदार सुरुवात, अफ्रिकाको तेस्रो हार


0
Shares

काठमाडौं । उपाधि दावेदार भारतले इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शानदार सुरुवात गरेको छ ।

गएराती भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्‍यो ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २७ रन बनायो ।

उसका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात लिए ।

जवाफमा २ सय २८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा रोहित शर्माको अविजित १ सय २२ रन महत्वपूर्ण रह्यो ।

रोहितको यो २३ औं एकदिवसीय शतक हो । जितसंगै भारतले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोड्दा दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा पराजित भएको छ ।

एक दिवसिय विश्वकप क्रिकेटकै अर्को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई २ विकेटले हराएको छ ।

लण्डनमा बंगलादेशले दिएको २ सय ४५ रनको लक्ष्य न्युजिल्याण्डले ४७ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्याण्डको जितमा रोस टेलरले सर्वाधिक ८२ रन जोडे ।

यसअघि शाकिब अल हसनले ६४ रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ४४ रन जोडेको थियो ।

जितसंगै न्युजिल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई पराजित गरेको थियो ।

उता पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको बंगलादेशको भने यो दुई खेलमा पहिलो हार हो ।