१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राजपाले संसदमा प्रभावकारी भूमिका खेल्ने


0
Shares

काठमाडौं, असार ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसदको दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ ।

राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसदमा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत् हुने निर्णय गरेको हो ।

बैठकले संसदमा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

उनकाअनुसार नवनिर्वाचित दलका नेता ठाकुरले वर्तमान समसामयिक परिस्थितिबारे बैठकमा धारणा राख्दै राजपाले जनताको अपेक्षाअनुरुप काम गर्नुपर्ने भएकाले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

राजपालाई मधेसकेन्द्रित दलकारुपमा चित्रण गरिने गरेकामा आपत्ति जनाउँदै नेता ठाकुरले राजपा देशका सम्पूर्ण उत्पीडनमा परेका जनताको भावनालाई एकाकार गर्दै अनवरतरुपमा अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

सरकारलाई समर्थन गरेको राजपाले सरकारमा सहभागी हुने या नहुने भन्नेबारे अझै निर्णयमा पुग्न सकेको छैन । संविधान संशोधनको विषयको स्पस्टतापछिमात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् ।

राजपा संसदीय दलको नेतामा ठाकुर

राजपा संसदीय दलकोे नेतामा सो पार्टीका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।

राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।

अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन भएको अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

‘राजपाले एक साताअघि आज निर्वाचन हुने मिति घोषणा गरेदेखि नै पार्टीको नेता को हुने ? कुन विधिबाट हुने ? पार्टीमा विवाद छ भन्ने बाहिर हल्ला फिँजाइएको थियो । त्यो सबलाई चिर्दै सर्वसम्मतरुपमा निर्णयमा पुग्न सफल भएको छ । राजपा आज पनि मुद्दाप्रति इमान्दारीपूर्वक कुनै प्रकारको मत मतान्तर छैन भन्ने कुरा आजको निर्णयले प्रमाणित गरेको छ’–नेता यादवले भने । रासस