Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


कर्णाली सरकारको नीति तथा कार्यक्रमः करोड बढीका आयोजनालाई बजेट


0
Shares

प्रकाश अधिकारी/दीपेन्द्र शर्मा (रासस)

सुर्खेत, जेठ २२ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा रु एक करोड बढी लागत अनुमान भएका आयोजनामामात्र बजेट विनियोजन गर्ने भएको छ ।

प्रदेशप्रमुख दुर्गाकेशर खनालले बुधबार कर्णाली प्रदेशसभामा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को बजेटमा ठूला आयोजनालाईमात्र प्राथमिकतामा राख्ने नीति लिइएको हो ।

चालू आवमा स–साना लागत (खुद्रे) योजनामा बजेट विनियोजन गरेको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो ।

प्रदेश सरकारले लागत अनुमान, सम्भाव्यता अध्ययन र विस्तृत् परियोजना प्रतिवेदन तयार भएका योजनामामात्र बजेट विनियोजनको व्यवस्था गर्ने भएको छ ।

आयोजना कार्यान्वयन गर्न कर्णाली पूर्वाधार विकास बैंक स्थापना गर्ने भएको छ ।

सालबसालीरुपमा सम्पन्न हुने आयोजनाको खरिद प्रक्रिया भदौबाटै प्रारम्भ गर्ने, विषयगत र क्षेत्रगत गुरुयोजनाका आधारमा निर्माण कार्यअघि बढाउन परियोजना बैंक निर्माण गर्ने, योजनाको अध्ययन, ढाँचालगायतको काम गर्न इन्जिनियरिङ कम्पनी गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

चालू आवमा प्रदेश लोकसेवा आयोगसम्बन्धी कानुन निर्माण गरिसकेको प्रदेश सरकारले आगामी वर्ष प्रदेशलाई आवश्यक जनशक्तिको व्यवस्थापन गर्न प्रदेश लोकसेवा आयोग गठन गर्नुका साथै कर्णाली प्रदेश मानव संशोधन केन्द्र स्थापना गर्ने, श्रमदान संस्कृतिको विकास गर्न श्रमदिन अभियानलाई व्यापकता दिने नीति अघि सारेको छ ।

कर्णाली प्रदेश सरकारले आगामी वर्षको पुस मसान्तसम्म लगानी सम्मेलन आयोजना गर्ने, सामाजिक विकास मन्त्रालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाको नियमन तथा आवश्यक सहजीकरण गर्ने भएको छ ।

प्रदेश सरकार स्थानीय तह र आमनागरिकको सहकार्यमा ‘कर्णालीको पानी सबैको लगानी’को अवसर जुटाइ जलविद्युत् उत्पादन गरी उज्यालो कर्णाली अभियानलाई अगाडि बढाउने, साना जलविद्युत् र वैकल्पिक ऊर्जाको विस्तृत् अध्ययन गरी आयोजना अघि बढाउने उल्लेख छ ।

भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रमले सबै स्थानीय तहबाट जिल्ला सदरमुकाम र जिल्ला सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडक निर्माण कार्यलाई तीव्रता दिने, हरेक जिल्लामा एउटा सडकलाई प्रदेश महत्वको आयोजनाकारुपमा सन्चालन गर्ने, दैलेखको लोहोरेखोलाबाट सुरुङ निर्माण गरी बहुउद्देश्यीय आयोजना अघि बढाउने, सबै जिल्लामा नमुना एकीकृत बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने र लक्षित वर्गको पहिचान गरी जनता आवास कार्यक्रम लागू गर्ने भएको छ ।

प्रदेशप्रमुख खनालले प्रदेशसभामा पेस गरेको ३३ पेज लामो नीति तथा कार्यक्रममा कर्णालीका जनताको जीवस्तर सुधार गर्न जडीबुटीको समूचित प्रयोग, न्यूनतम् आय–आर्जनका कार्यक्रम सन्चालन गरिने उल्लेख छ ।

सरकारले दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने, संघीय सरकारको समन्वयमा मेडिकल कलेज सन्चालन गर्ने, एक जिल्ला एक बहुप्राविधिक कलेज स्थापना गर्ने, स्थानीय तहको समन्वयमा डोल्पा, कालिकोट, मुगु र हुम्लामा आवासीय विद्यालयकारुपमा विकास गरिने उल्लेख छ ।

त्यस्तै, केन्द्र र स्थानीय तहको समन्वयमा दुई वर्षभित्र साक्षर कर्णाली प्रदेश घोषणा गर्ने, छोरीबुहारी छात्रवृत्ति कार्यक्रम सन्चालन गर्ने, मुख्यमन्त्री महिला तथा दलित आय–आर्जन कार्यक्रम लागू गरी परम्परागत सीप र कलालाई आधुनिकीकरण गरी रोजगारी सिर्जना गर्ने भएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम सन्चालन गर्नेछ ।

त्यस्तै, प्रदेश अस्पतालाई ३०० शय्या र जिल्ला अस्पताललाई ५०, स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण तथा सेवा विस्तार गर्ने, आवश्यकताअनुसार एक निर्वाचन क्षेत्र एक टेलिमेडिसिन सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गरी एम्बुलेन्स सेवा सन्चालन गर्ने, नेपाल सरकारसँगको समन्वयमा सबै नागरिकलाई स्वास्थ्य बिमामा आवद्ध गराउने उल्लेख छ ।

चिकित्सा, विमानचालक तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।

कर्णाली खेलकुद विकास परिषद् गठन गर्नुका साथै बहुउद्देश्यीय रंगशालाको तयारी यसै आवबाट अगाडि बढाउने, जुम्लाको सिञ्जा र दैलेखको दुल्लुमा खस संग्रहालय स्थापना तथा सिञ्जामा नेपाली भाषा तथा विश्व साहित्य सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रांगारिक मलको उत्पादन बढाइ रासायनिक मलको निरुत्साहन गर्ने, बीउ बैंकको स्थापना गर्ने, व्यावसायिक किसानलाई आवश्यक बेर्ना वितरण गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयमा वैदेशिक समन्वय महाशाखा स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै, आमसञ्चार प्रविधि प्रतिष्ठान, डाटा बैंक स्थापना गरिनेछ ।

प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक नियमित गरी बजेट कार्यान्वयनको अवस्था प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विपद् र भोकमरीको समयमा औषधिसहित खाद्यान्न उपलब्ध गराउन जनभकारी सन्चालन गर्ने, साउन २८ गते विपद् सचेतना दिवस मनाउने भएको छ ।

नागरिक र प्रदेश सरकारबीच सम्बन्ध मजबुद् बनाउन ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम लागू गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।