Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आर्मी फाइनलमा, प्रदेश–३ माथि ११७ रनको फराकिलो जित


0
Shares

काठमाडौं, जेठ २२ । त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश नम्बर–३ माथि ११७ रनको फराकिलो जित हासिल गर्दै आर्मी फाइनलमा पुगेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित् ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनायो ।

कप्तान विनोद भण्डारीले ४२ बलमा अविजित रहँदै ७५ रन बनाए । राजु रिजालले ५४ तथा रोहितकुमार पौडेलले ४३ रन जोडे ।

प्रदेश–३ का नन्दनकुमार यादव र जितेन्द्रसिंह ठकुरीले समान २/२ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले १/१ विकेट झारे ।

जवाफमा इशान पाण्डेको गतिलो प्रदर्शनको मद्दतले प्रदेश–३ ले ५० ओभरमा ९ विकेटको क्षतिमा १९२ रनमात्र बनाउन सक्यो ।

पाण्डेले ७९ रनको योगदान गरे । कप्तान पारसले १९ रन बनाए । उपकप्तान ज्ञानेन्द्रले २६ रन जोडे । नन्दन यादव १८ रनमा अविजित रहे ।

आर्मीका शाहब अलामले सर्वाधिक ३ विकेट लिए । करण केसीले २, सुशन भारी, रोहितकुमार पौडेल र कुशल मल्लले समान १/१ विकेट हात पारे ।

पुलिस र सशस्त्र आमने–सामने

दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित खेल्नेछ ।

पुलिस समूह ‘बी’को विजेता हो भने सशस्त्र समूह ‘ए’को उपविजेता हो ।

१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा प्रदेश–३ बाहेकका प्रदेशहरु समूह चरणबाटै बाहिरिएका थिए ।