
पोखरा । पोखरा महानगरपालिकामा कर्मचारीतन्त्रको हावी छ । महानगरभित्र कर्मचारी गिरोह सक्रिय हुँदा प्रमुख कार्यकारीको केही चल्दैन र कुनै पनि प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्दैनन् ।
कार्यकारीले सम्पूर्ण जिम्मा आफैं लिन खोज्छन् जुन निजामती कर्मचारीले हुन दिँदैनन् । जसले त्यो सिस्टम परिवर्तन गर्न खोज्यो ऊ त्यहाँबाट सरुवा हुन्छ ।
त्यस्तै कारणले नै पोखरा महानगरपालिकाको प्रत्येक महिनामा प्रशासकीय प्रमुख परिवर्तन हुने गर्छन् ।
देश संघीयतामा गएपछि स्थानीय तहको निर्वाचनपश्चात पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी हुनुहुन्छ ।
उहाँकै कार्यकालमा ६ जना प्रशासकीय प्रमुख परिवर्तन भएका छन् । उक्त समयावधिमा एक जना प्रमुख प्रशासकीय एक वर्षबाहेक अरु भने महिना दिनमै परिवर्तन हुने गरेका छन् ।
२०७५ साल जेठ १४ गते महानगरका प्रमुख प्रशासकका रुपमा आउनुभएका शेषनारायण पौडेलबाहेक अन्यले धेरै समय पाएका छैनन् । जेठमा आउनुभएका पौडेल ०७६ भदौ ६ गतेसम्म प्रमुख प्रशासकीय भएर काम गर्नुभयो ।
त्यसलगत्तै आउनुभएका गंगालाल सुवेदीले ५ महिना मात्र काम गर्दै सरुवा हुनुभयो । भदौ १० गते कार्यभार सम्हाल्नुभएका उहाँको माघ २४ गते सरुवा भयो ।
त्यस्तै ०७६ माघ २६ गते नयाँ प्रशासकीय प्रमुखका रुपमा बद्रिनाथ अधिकारी आउनुभयो । उहाँ एक महिनामा नै सरुवा हुनुभयो ।
माघमा आउनुभएका उहाँ फागुनमै जानुभयो । त्यसलगत्तै चैत्र ५ गते प्रमुख अधिकृतका रुपमा आउनुभएका धु्रवकुमार पोखरेल ०७७ असारमा सरुवा हुनुभयो ।–नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्