नविन सिंह
जनकपुर, जेठ २१ । प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको सत्तारुढ दलकै सांसदले आलोचना गरेका छन् ।
विशेष गरी महिलाका विषयमा नीति तथा कार्यक्रम मौन देखिएको भन्दै सत्तारुढ दलकै सांसदले असन्तुष्टि जनाएका हुन् । अझ विपक्षी दलका सांसदले त सरकारको नीति तथा कार्यक्रम हावादारी भएको आरोप लगाएका छन् ।
सत्तापक्षीय राजपाका सांसदहरु मनिष सुमन र रानी शर्मा तिवारीले नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा गएका युवा, प्रदेशमा कायम रहेका कुरिति, महिलाको सुरक्षालगायतका विषय नसमेटिएको भन्दै गुनासो गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद रामचन्द्र मण्डलले समेत नीति तथा कार्यक्रममा सन्तोष लिने ठाउँ नदेखिएको बताए ।
तर, राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने नीति कार्यक्रम सबै कुरालाई छोएर आएकाले निकै महत्वपूर्ण र दू्रगामी भएको जिकिर गरे ।
मुख्यमन्त्री लालबाबु राउतले नीति कार्यक्रममा विकासलाई मुख्य प्राथमिकतामा राखिएको बताए । विगतमा कानुन निर्माणमा भएको ढिलाइका कारण विकासमा केही समस्या आए पनि आगामी दिनमा सहज हुने गरी नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै विषयलाई निरन्तरता दिइएको छ । केही लोकप्रिय नारा भने यस पटकको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
दलित वर्गभित्र आर्थिक एवं समाजिक रुपले सबैभन्दा पछाडि परेका जातजातीलाई मूलधारमा ल्याउन रासन कार्डको व्यवस्था गर्ने, ५ लाख रुपैयाँसम्मको स्वास्थ्य विमा गरिदिने तथा उच्च शिक्षा अध्ययनमा त्यस समुदायका विद्यार्थीलाई बस्ने तथा खानेको व्यवस्था गर्नेलगायतका व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्