Logo ४ माघ २०८२, आइतबार | Mon Jan 19 2026


उद्दार उडानमा यात्रुसंग बढी मूल्यमा टिकट बिक्री गरे कारबाही गर्ने


0
Shares

काठमाडौं, साउन ५ । नेपाल वायु सेवा निगमले उद्दार उडानहरुमा यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

लकडाउनका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरी स्वदेश फर्काउने कार्यमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्दार उडानहरु संचालन गर्दै आइरहेको पनि दाबी गरेको छ ।

निगमले सोमबार विज्ञप्ती जारी गर्दै उद्दार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेवसाइटमा प्रकाशित गरी सोही बमोजिम उडान संचालन गरिरहेको व्यहोरा प्रष्टयाएको छ ।

साथै, उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको पनि निगमले जानकारी गराएको छ ।

कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाईदिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न संचार माध्यममा सूचना प्रकाशित गरेको समेत बुझिएकोले त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्वन्धित निगमले सबैलाई सूचित गरेको छ ।

यदि निगमको वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भएमा प्रचलित कानून बमाजिम कारवाही हुने पनि निगमले जनाएको छ ।