
सर्लाही । डिभिजन वन कार्यालय सर्लाहीले जंगली हात्ती प्रभावितलाई राहत वितरण गर्न सुरु गरेको छ ।
पहिलो चरणमा ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका २५ प्रभावित परिवारलाई राहत वापत १ लाख ८९ हजार ७ सय ३० रुपैयाँ प्रदान गरिएको सर्लाहीका डिभिजन वन प्रमुख माधवप्रसाद देवले जानकारी दिए ।
आफ्नै जग्गामा बसोवास गरेकालाई हात्तीले क्षति पुर्याएको घर र अन्न दुवैको तथा वन अतिक्रमण गरेर बसेका परिवारलाई अन्नको मात्रै क्षतिपूर्ति प्रदान गरिएको हो ।
वन नियमावलीमा वन जंगलको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा जंगली जनावरले भत्काए राहत उपलब्ध गराउनु नपर्ने उल्लेख छ ।
पर्सा राष्ट्रिय वन्यजन्तु आरक्षबाट दोस्रो चरणमा आउने राहत ईश्वरपुरका बाँकी र लालबन्दीका पीडित परिवारलाई प्रदान गरिने डिभिजन वन प्रमुख देवले बताए ।
गत पुसदेखि चैतसम्म सर्लाहीको सागरनाथ वन विकास परियोजना, विभिन्न सामुदायिक वन र साझेदारी वनमा देखा परेका जंगली हात्तीले लालबन्दी नगरपालिकाको हीरापुर, मेजरगञ्ज, रानीगञ्ज, परवानीपुर तथा ईश्वरपुर नगरपालिकाको गौरीशंकर, सागरनाथ, मियाँखोर, राइटरखोरलगायतका क्षेत्रमा दर्जनौं घरका बेराघेरा भत्काएर घरभित्र भण्डारण गरेर राखिएको अन्न र खेतबारीमा लगाएको बालीनालीमा क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्