Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम ‘पुरानै शैलीको निरन्तरता’ (भिडियो)


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २० । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत् गरेको नीति तथा कार्यक्रम पुरानै शैलीको निरन्तरता भएको आरोप प्रतिपक्षी नेपाली कांग्रेसले लगाएको छ ।

प्रदेशमा रहेका स्रोत–साधनको उपयोग गरी उत्पादन बढाएर जनताको जीवनस्तर माथि उठाउनेखालको नीति तथा कार्यक्रम ल्याउनु सट्टा वितरणमुखी बजेट ल्याउने गरी नीति तथा कार्यक्रम बनाएको गुनासो आएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशप्रमुख मोहनराज मल्लले चौथो अधिवेशनको दशौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास र समृद्धिको ढोका खोल्ने उल्लेख छ ।

गत वर्ष प्रदेशका जनताको जीवनस्तर माथि उकास्नेखालका नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रदेश सरकारले यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएको आरोप प्रतिपक्षी कांग्रेसलगायतका दलहरुले लगाएका छन् ।

नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले परम्परागतरुपमा नीति तथा कार्यक्रम आएको टिप्पणी गरे ।

उनले सबैलाई खुसी पार्नेगरी नीति तथा कार्यक्रम तय गरिएकाले आगामी आर्थिक वर्षको बजेटसमेत वितरणमुखी हुने सम्भावना अधिक रहेको बताए ।

सत्तापक्षका सांसदले भने प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गरेका छन् ।

सरकारले सुदूरपश्चिममा रहेका कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास र समृद्धि गर्नेखालका कार्यक्रम सार्वजनिक गरेको सांसद चुनकुमारी चौधरीले बताइन् ।

नीति तथा कार्यक्रमअनुसार नै आगामी बजेट ल्याइने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । आगामी बजेट प्रदेशको विकास र समृद्धिमा केन्द्रित रहने उनको भनाइ छ ।

नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, स्वरोजगार बढाउने, औद्योगिक विकास, अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने, जिल्ला अस्पतालाई स्तरोन्नति गर्ने, जडीबुटीको बजारीकरण गर्ने, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण–सम्वर्द्धन गर्ने, एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रम सन्चालन गर्नेलगायतका कुराहरुलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

भिडियो हेर्नुहोस्