धनकुटा । धनकुटाको आत्माराममा निर्माणधीन औद्योगिक ग्राम संघीय सरकारले प्रदेश– १ सरकारलाई हस्तान्तरण गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निर्माणाधीन लघु घरेलु औद्योगिक ग्राम प्रदेश नं. १ अन्र्तगतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रदेश उद्योगमन्त्री जगदीश कुसियतलाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण गरे ।
करिव ५२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्रामको संरचनाहरु अहिले धमाधम निर्माण भइरहेका छन् ।
विकास क्षेत्रको सदरमुकाममा औद्योगिक क्षेत्र स्थापना गर्ने नीतिअनुरुप तत्कालीन राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको क्रममा २०४० सालमा औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।
औद्योगिक व्यवस्थापन लिमिटेड काठमाडौंको नाममा रहेको यो जग्गा लामो समयसम्म उद्योग स्थापना हुन नसकेपछि २०७३ माघको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइ घरेलु कार्यालयको नाममा नामसारी भएपछि आर्थिक वर्ष २०७३/७४ देखि ग्रामको पूर्वाधार निर्माण काम अघि बढेको थियो ।
छरिएर रहेका घरेलु उद्योगलाई एकिकृत गर्ने उद्देश्यका साथ यो ग्राम निर्माण गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका निर्देशक दिपक पौडेलले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्