
-दुर्गा उपाध्याय/ईमेज:
कञ्चनपुर, जेठ ३० । गत वैशाखमै पूरा गर्ने लक्ष्य लिइएको महाकाली नदीमा तटबन्ध निर्माणको काम अझै पूरा हुन सकेको छैन ।
कटान नियन्त्रणका लागि थालिएको काम समयमै पुरा नहुँदा स्थानीयलाई जोखिम बढ्दै गएको छ । तर ठेकेदार पक्षले भने रकम अभावका कारण काम पुरा नभएको दाबी गरेको छ ।
महाकाली नदीको कटानले गर्दा झण्डै ४ सय बिघा जमिन बगरमा रुपान्तरण भइसकेको छ । वर्षायामको अनियन्त्रित बाढीका कारण वरपरको क्षेत्रमा ठूलो क्षति पुर्याइरहेको छ ।
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले प्रतिवर्ष १६ सयभन्दा बढी परिवार बाढीको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । तर सम्बन्धित र सरोकारवाला पक्ष गम्भीर नभइदिँदा वर्षौदेखि जनता त्रास र जोखिममा बसिरहेका छन् ।
उसो त कटान नियन्त्रणका लागि भन्दै सरकारले पनि वर्षेनी करोडौँ रकम विनियोजन गरिरहेकै छ । तर प्रतिफल निस्कन नसक्दा लगानी बालुवामा पानी खन्याएजस्तै भएको भान भइरहेको छ ।
आर्थिक वर्ष ०७४/०७५ मा जनताको तटबन्ध निर्माणका लागि १० करोड रुपैयाँ बराबरको कार्यक्रम ल्याइएको थियो ।
जनताको तटबन्ध कार्यालयले गत बैशाख मसान्त सम्म काम सक्ने गरी केएस निर्माण सेवा, नाकार्जुन र कुमार श्रेष्ठ/राजेन्द्र जेभीसँग ५७ करोड रुपैयाँ बराबरको तटबन्ध निर्माणको सम्झौता गरेको थियो ।
समयमै भुक्तानी हुन नसकेकाले काममा ढिलाइ भएको ठेकेदार पक्षको तर्क छ । कुमार श्रेष्ठ/राजेन्द्र जेभी का स्थानीय प्रतिनिधि गणेश जोशी ।
जनताको तटबन्ध कार्यालयले पनि मन्त्रालयको सहमतिमा ५७ करोडको सम्झौता गरी काम थालेको भएपनि नियमित १० करोड रुपैयाँ बाहेकको रकम निकासा नहुँदा निर्माण कम्पनीलाई भुक्तानी दिन नसकेको जनाइएको छ ।
कटान प्रभावित समुदायले भने छुट्याइएको रकम सदुपयोग हुन नसकेको साथै गुणस्तरीय काम नभएको बताउँछन् ।
समयमा काम पुरा नभएपछि सरकार र ठेकेदार कम्पनीले एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।
तर जनताका भने समस्या ज्यूँका त्यूँ छन् । समयमा काम नहुँदा सरकार र ठेकेदार कम्पनीको वास्तविक चरित्र उदाङ्गो भएको छ ।
प्रतिक्रिया दिनुहोस्