
बिनोद भट्टराई/ईमेज:
कपिलवस्तु, असार ३० । पछिल्लो समयमा विशेष गरी युवाहरुमा पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
तर, स्वदेशमै व्यवसाय गरेर पनि प्रसस्त पैसा कमाउन सकिन्छ भन्ने उदाहरण कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मोतीपुरका किसान जयलाल गिरीले प्रस्तुत गरेका छन् ।
१३ वर्ष खाडी मुलुकमा पसिना बगाएर नेपाल फर्किएका कपिलवस्तु वाणगंगा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले व्यावसायिक बाख्रा, भैंसी र गाईपालन गरेर मासिक एक लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
खाडी मुलुकबाट फर्किए लगत्तै २०७० सालमा कपिलवस्तु बाख्रापालन तथा कृषि फर्म दर्ता गरि गिरीले कृषि व्यवसाय अंगालेका थिए ।
सरकारी विद्यालयको ३ विगाह ५ कठ्ठा जग्गा भाडामा लिएर उनले व्यवसाय संचालन गरेका हुन ।
सुरुवाती चरणमा डेढ सय वटा बाख्रा पाल्न सुरु गरेका गिरीले अहिले व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन् ।
अहिले उनले बाख्रासँगै साना ठूला गरि २८ वटा गाई भैंसी पालेका छन् ।
उनले दैनिक दैनिक ५० देखि ५५ लिटर दूध बिक्री गर्दै अएका छन् । व्यवसायमा अहिलेसम्म ६० लाख रुपैयाँ लगानी भएको उनको भनाइ छ ।
कृषि मै केही गर्छु भन्ने उद्देश्यले पशुपालन अंगालेको गिरी बताउँछन् ।
व्यावसायिक पशुपालनसँगै उनले माछा पनि पालेका छन् । उनलाई श्रीमती, छोरा र तीन जना कामदारले सहयोग गरिरहेका छन ।
उत्पादित दूध र मासु बेच्न कुनै समस्या नरहेको उनको भनाई छ ।
व्यावसायिकरुपमा बाख्रापालन गर्न सके स्वदेशमै मासिक हजारौं रुपैया कमाउन सकिने उनको अनुभव छ ।
कृषि क्षेत्र सरकारले दिने अनुदानमा केही थप सुविधा दिए सानै लगानीबाट पनि प्रशस्त आर्थिक उपार्जन गर्न सकिने भएकाले बिदेशीने युवालाई देशमै केही गर्न उनी सुझाव दिन्छन् ।
बिदेश नगई त पैसा कमाउनै सकिँदैन अर्थात् लाख कमाउन त बिदेश नै जानु पर्छ भन्ने अहिलेका युवा पिढीका लागी गिरी गतिलो उदाहरण बनेका छन् ।
बिदेशिने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । राज्यले ति युवाहरुलाई स्वदेशमै रहेर गर्न सकिने बिभिन्न सम्भावना देखाइदिनुपर्छ ।
राज्यले रोजगार दिनु पर्दैन तर कृषि क्षेत्रका सम्भावनाहरुसँग युवालाई पहिचान मात्र गराईदिए पनि उल्लेख्य योगदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्