Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


प्रदेश २ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


0
Shares

जनकपुर, जेठ १९ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आज प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी बर्षसम्म दरबन्दी अनुसारका सबै कर्मचारी र प्रहरी नियुक्त गर्ने उल्लेख छ ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानलाई निरन्तरता दिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ सम्मका छात्रालाई मासिक ५ सय रुपैयाँ छात्रवृत्ति दिने नीति पनि प्रदेश २ सरकारले लिएको छ ।

त्यसैगरी आगामी वर्षभित्र प्रदेशलाई खुला दिशामुक्त बनाउने, प्रदेशभित्रका सबै ६४ वटा निर्वाचन क्षेत्रमा सन्तुलित र समतामूलक तरिकाले बजेट बाँडफाँट गर्ने तथा मुख्यमन्त्री साना किसान योजना सञ्चालन गरी प्रदेशलाई कृषि प्रधान बनाउने अवधारणा अगाडि ल्याइएको छ ।

बाराको पथलैयादेखि सप्तरीको रुपनीसम्मको २५० किलोमिटर राजमार्गलाई मधेशी शहीद राजमार्ग घोषणा गर्ने, छिन्नमस्ता एकीकृत परियोजना सञ्चालन गर्दै सप्तरीदेखि पर्सासम्मका मठ, मन्दिर, पर्यटकीय क्षेत्रहरुको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।