Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


0
Shares

बिराज रोस्यारा

कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गरेको छ ।

सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले चौथो अधिवेशनको दशौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास र समृद्धिको ढोका खोल्ने नीति लिईएको छ ।

समाजवाद उन्मुख अर्थतन्त्रको प्रवर्द्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने, बैंक वित्तीय संस्था स्थापना गर्ने र पहुँच बढाउने, प्रदेश लगानी वोर्ड स्थापना गर्ने, रोजगारीका अवसर सिर्जना गर्दै कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउने, लगानीको वातावरण बनाई दिगो विकास हासिल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी, एकीकृत बस्ती विकास कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक क्षेत्र, लगानी सम्मेलन आयोजना, एक जिल्ला एक नमुना शहर, साहसिक पर्यटनलाई प्रवर्द्धन, होमस्टे सञ्चालन, बन्द विमानस्थल सञ्चालन तथा चालु भइरहेकाको स्तरोन्नति, अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने र जिल्ला अस्पताललाई स्तरोन्नति गरिने लक्ष्य पनि नीति तथा कार्यक्रममा समेटिएको छ । जडीबुटीको व्यावसायीकरण, बजारीकरण गर्दै आय आर्जनमा वृद्धि गरिने, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण सम्बर्द्धन गर्दै आवश्यक पूर्वाधार जुटाउन नीति योजना बनाउने लगायतका विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ ।