
काठमाडौं, जेठ १९ । कुनै पनि काम सानो ठूला भन्ने हुँदैन । कामप्रतिको दृष्टिकोण र लगावले नै त्यसको महत्वलाई दर्शाउँछ ।
यस्ता विभिन्न काममध्ये एक हो जुत्ता सिलाउने । यही कामलाई वर्षौंदेखि पेशा बनाएर जीविकोपार्जन गर्नेहरु समाजमा निकै छन् ।
काठमाडौको व्यस्त र धुलो, धुवाँयुक्त सडकमा बसेर जुत्ता सिउन पक्कै पनि सजिलो छैन । तर यही परिवेशमा बसेर यो काममा वर्षौं बिताउनेहरु मध्ये एक हुन्– सर्लाहीका ४८ वर्षीय केवल चमार ।
उनले काठमाडौंको सामाखुशी चोकमा विगत १२ वर्षदेखि जुत्ता सिउने काम गर्दैै आइरहेका छन् । जुत्ता सिएरै उनले दैनिक ८ सय रुपैयाँसम्म कमाउँछन् । यो कमाइले उनले ५ जनाको परिवार पालेका छन् ।
पेशाप्रति इमान्दार बन्नु पर्ने र ग्राहकहरुलाई राम्रो सेवा दिन सक्नु पर्ने केवल चमारलाई अनुभवले सिकाएको छ ।
जुत्ता सिएरै काठमाडौंमा सहज जीवन चलाइरहने सप्तरीका ३७ वर्षीय सुरेन्द्र रामले पनि सामाखुशी चोकमा जुत्ता सिलाउन थालेको १२ वर्ष भइसक्यो । उनको दैनिक कमाइ १ हजारको हाराहारीमा छ । जुत्ता सिएरै ४ जनाको परिवारलाई खान लाउन पुगेको बताउने सुरेन्द्र यो पेशामा खुशी छन् ।
काठमाडौंको ढुङ्गेधारामा विगत १४ वर्षदेखि जुत्ता सिउने काम गदै अइरहेका राम सुफल महराले ६ जनाको परिवारको खर्च जुत्ता सिएरै पु¥याएका छन । उनी त छोरीको बिहेमा लागेको ऋण पनि यहि काम गरेर तिर्ने योजनामा छन् ।
यी केही प्रतिनिधिपात्र मात्र हुन् जसले निरन्तरको मेहनत र लगावबाट सानो ठानिएको कामबाट पनि राम्रोसँग जीवन चलाइरहेका छन् । र, समाजलाई सन्देश पनि दिइरहेका छन्, कामलाई सम्मान गर्न सकियो भने जुनसुकै कामबाट प्राप्त हुने प्रतिफल वास्तवमा सन्तोष मिल्ने खालको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्