भरतपुरको सिजी ल्याण्डमार्क सपिङमलमा चार महिनाको भाडा छुट • Image Khabar Image Khabar


भरतपुरको सिजी ल्याण्डमार्क सपिङमलमा चार महिनाको भाडा छुट


Imagekhabar
१ श्रावण २०७७, बिहीबार ११:४५

भरतपुरको सिजी ल्याण्डमार्क सपिङमलमा चार महिनाको भाडा छुट

चितवन । चौधरी समूहले भरतपुरमा सञ्चालन गरेको सपिङमल सिजी ल्यान्डमार्कले चार महिनाको भाडा छुट दिएको छ ।

कम्प्लेक्सका व्यवसायी लकडाउनबाट प्रभावित बनेपछि छुट दिइएको हो ।

प्रतिष्ठित व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको मलका प्रबन्ध सञ्चालक राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबलअन्तर्गतको व्यापारिक कम्प्लेक्स हो ।

मलका व्यवस्थापक उज्ज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् ।

सरकारले सपिङ कम्प्लेक्स सञ्चालन गर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।

सामाजिक दूरी, मास्क, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सुक्ष्मरूपमा निगरानी गरेर ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको केसीले जानकारी दिनुभयो ।

मल व्यवस्थापनले सामाजिक दूरीको लागि मार्किङ, स्यानिटाइजर र साबुनपानीको व्यवस्था गर्नुका साथै मलका रेलिङलगायत छोइने वस्तुहरुलाई नियमितरूपमा निःसङ्क्रमित गर्ने गरेको उहाँको भनाइ छ ।

सो मलमा ब्राण्डेड सामानका पसल, फिल्महल, रेष्टुरेण्ट, होटल रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्