२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कारबाहीका नाममा पाकिस्तानमा हजारौंको हत्या !


0
Shares

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलापछि पाकिस्तानी सेनाले कारबाहीका नाममा हजारौंको हत्या गरेको ठहरसहितको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

बीबीसीले गरेको विशेष अनुसन्धानले पाकिस्तानी सेनाले आतंककारीविरुद्धको कारबाहीका नाममा हजारौंको हत्या गरेको ठहरसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

स्वतन्त्र अनुसन्धानकर्ता र अधिकारवादी संस्थाहरुले सन् २०१२ यता मात्रै पाकिस्तानको उत्तरपूर्वी क्षेत्रका करिब ५० लाख सर्वसाधारणलाई विस्थापनका लागि बाध्य पारिएको दाबी गरेका छन् ।

पाकिस्तानले युद्धका क्रममा मारिएकाको यकिन तथ्यांक राख्ने गरेको छैन ।

यद्यपि, स्थानीय अधिकारी तथा अधिकारकर्मीहरुको अध्ययन प्रतिवेदनले युद्धका क्रममा सेना र सर्वसाधारण गरी ५० हजारको मृत्यु भएको देखाएको छ ।

सेनाले सर्वसाधारणमाथि गरेको हवाई तथा स्थलगत कारबाहीको भिडियो फुटेज पनि प्रमाण स्वरुप सर्वसाधारणले सुरक्षित राखेको बीबीसीले जनाएको छ ।

पाकिस्तानी अधिकारवादी संस्थाहरुले गत वर्षदेखि सर्वसाधारणका अधिकारवादी मुद्दाहरु सार्वजनिक गर्न थालेपछि पाकिस्तानी सेनाको ज्यादतीबारेका घटना सतहमा आएका हुन् ।

उच्चस्तरीय छलफलपछि कानुनसंगत ढंगले कारबाही गर्नुपर्नेमा सेनाको तल्लो तहबाटै हत्यासम्ममा कारबाही हुने गरेको बीबीसीले खुलासा गरेको हो ।

साथै सेनाले तालिवान तथा अन्य आतंकवादीको पहिचान भएकालाई मात्र नभई उनीहरुका परिवारमाथि समेत अन्यायपूर्ण र क्रुर व्यवहार गरेको पुष्टि भएको छ ।(एजेन्सी)