२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतीय कांग्रेसको संसदीय दलको नेतामा पुनः सोनिया गान्धी


0
Shares

नयाँदिल्ली, जेठ १८ । भारतीय राष्ट्रिय कांग्रेस पार्टीको संसदीय दलको नेतामा पुनः सोनिया गान्धी निर्वाचित भएकी छन् ।

शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीकारुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताएका छन् ।

भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ ।

नयाँ सरकारको नयाँ केन्द्रीय वार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

लोकसभामा कांग्रेसका ५२ जना सांसद रहेका छन् । गान्धीले संसदमा उनीहरुको नेतृत्व गर्ने भएकी छन् । उनी सन् २००४ देखि निरन्तर कांग्रेसको संसदीय दलको नेता छिन् । रासस/एएनआई