कलियुगका जनताको भूमि भारतको कब्जामा : लालपुर्जा हातमा, जमिन भारतमा • Image Khabar Image Khabar


कलियुगका जनताको भूमि भारतको कब्जामा : लालपुर्जा हातमा, जमिन भारतमा


Imagekhabar
३० असार २०७७, मंगलवार ०६:१९

कलियुगका जनताको भूमि भारतको कब्जामा : लालपुर्जा हातमा, जमिन भारतमा

काठमाडौं । सुस्तासहित ७१ ठाउँमा अतिक्रमण मात्र गरेको छैन, सीमा क्षेत्रका दशौँ हजार नेपालीलाई प्रताडित गरेको छ ।

भारतीय प्रहरीबाट अपहेलित नेपाली जनताको समस्या समाधान भएको छैन, प्रधानमन्त्री केपी ओलीले त्रेता युगका रामको जन्मभूमि नेपाल हो कि भारत भनेर नयाँ बहस जन्माएका छन् ।

नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तर धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् ।

भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत्विपत्मा छ ।

सुस्ताका बासिन्दालाई देशको मूलधारसम्म जोड्ने एउटा पुलसमेत छैन । गाउँमा ६ कक्षाभन्दा माथि विद्यालय छैन, प्राथमिक उपचार गर्न हेल्थपोस्टसमेत छैन । उज्यालो बाल्न बिजुली छैन र किनमेल गर्न बजार छैन ।

यी सबै आवश्यकताका लागि उनीहरू भारतमा निर्भर छन् । तर, तिनै भारतीयले सुस्तावासीको खेतबारी कब्जा गरेका छन्, घरवास उठाउन खोजेका छन् । नेपाल सरकार मौन छ ।

नेपालको लालपुर्जा देखाउँदै सुस्ताका बासिन्दा ओमप्रसाद चौधरी भन्छन्, ‘आफ्नै खेतमा जान पाउँदिनँ, टाढैबाट हेरेर फर्कन्छु, एकैठाउँमा १५ जनाको ५७ बिघा जमिन छ । लालपुर्जा हामीसँगै छ, तर आफ्नै खेतमा जान पाउँदैनौँ ।

नम्बरी जग्गा हो, अहिले चौर भएको छ । कुनै दिन त्यो भूमि हाम्रै होला भन्ने आशा छ । नजिक जान त सक्दिनँ, टाढैबाट हेरेर फर्कन्छु ।’

त्यस्तै स्थानीय बासिन्दा बेचनी यादव भन्छिन्, ‘नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन, नारायणीमा पुल छैन, त्यसैले नेपाली बजारमा होइन, भारततिर जानुपर्छ ।

नुन–चामल किन्न जाँदा भारतीय फौजले कुटपिट गर्छ, चामल पोखिदिन्छ । नेपाली होस् भने नागरिकता देखा भन्छन्, हामीसँग छैन ।

त्यसो भए कुन देशको नागरिक होस् भनेर अपहेलना गर्छन् । बिरामी भएर अस्पताल जान्छु भन्दा पनि फर्काइदिन्छन् ।’नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्