
काठमाडौं, जेठ १७ । सरकारले टुटल, पठाओलगायतका दुईपांग्रे यात्रीवाहक सेवा प्रदायकलाई नियमन र यात्री सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ ।
करिब दुई वर्षपहिलेदेखि दुईपांग्रे सवारी–साधनले भाडामा यात्री ओसार्दै आएपनि तिनलाई सन्चालन, व्यवस्थापन र नियमन गर्ने कानुन थिएन ।
यातायात व्यवस्था ऐन संशोधनकाक्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
ती सवारीले यात्रीलाई सुविधा दिएपनि सुरक्षाका हिसाबले ढुक्क हुन नसकिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
उनकाअनुसार हाल सन्चालनमा रहेका यी दुई सेवा प्रदायक संस्थाले सुरक्षाको दाबी गरे पनि आश्वस्त हुन नसकिएकाले कानुन बनाउन लागिएको हो ।
दुर्घटनाको क्षतिपूर्ति, यात्रीको बिमालगायतका विषय ऐनले समेट्ने उनले जानकारी दिए ।
‘अहिले छिटो गन्तव्यमा पुर्याउने भएकाले लोकप्रिय साधन बनिरहेको छ’, उनले भने,‘ऐनले नै यात्रीको सुरक्षाका केही आधार बनाएपछि त्यसकै आधारमा सरकारले नियमन गर्नसक्छ ।’
नेपालमा रातो नम्बरप्लेटका र दुईपांग्रे सवारी-साधनले सार्वजनिक सवारीले जसरी भाडा लिएर यात्री बोक्न नमिल्ने भन्दै केही समयपहिले मन्त्रालयले रोक लगाएको थियो ।
केही महिनापहिले ट्राफिक प्रहरीले विभिन्न स्थानमा छड्के जाँच र कारबाही थाले पनि अहिले ती सवारी नियमित सन्चालनमा छन् ।
धेरैले ती सेवा प्रदायकलाई बन्द नगरी नियमन गर्नुपर्ने बताउँदै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्