
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, जेठ १७ । सेवाग्राहीलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा स्वच्छ पिउनेपानीको व्यवस्था गरिएको छ ।
विभिन्न कामले सदरमुकाम तथा प्रशासन कार्यालय पुग्ने सर्वसाधारण तथा सेवाग्राहीलाई स्वच्छ पिउनेपानीको समस्या देखिएको थियो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का अध्यक्ष सुदीप पौडेलको पहलमा शुक्रबारदेखि प्रशासनमा निःशुल्क पिउनेपानीको व्यवस्था गरिएको हो ।
प्रचन्ड गर्मीमा विशेषगरी वृद्धवृद्धा र विपन्न वर्गलाई लक्षित गरी चिसो र स्वच्छ पानीको व्यवस्था गरिएको हो ।
बढ्दो गर्मीमा ड्युटीमा खटिने प्रहरी र बाटो हिँड्ने बटुवाको प्यास मेटाउने उद्देश्यका साथ पानी प्रशोधन गर्दै चिसो बनाइरहने ‘ब्लुमाउन्ट’ मेसिन जडान गरिएको वडाध्यक्ष पौडेलले बताए ।
शुक्रबार उक्त फिल्टर मेसिनको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल र कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले उद्घाटन गरे ।
गर्मीयाममा सेवाग्राहीको सहजताका लागि फिल्टर जडान गरेको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले वडा कार्यालयप्रति आभार प्रकट गरे ।
वडाध्यक्ष पौडेलले सुरक्षार्थ खटिने सुरक्षाकर्मी, सेवाग्राही र नगरवासीको आवश्यकतालाई पूर्ति गर्नु मानवीय दायित्व भएको भन्दै हातेमालोको आवश्यकता रहेको औंल्याए ।
डेढ लाख रुपैयाँको लागतमा जडित उक्त मेसिनबाट प्रतिघन्टा ४० लिटर फिल्टर चिसो पानीको व्यवस्था हुनेछ ।
प्रतिक्रिया दिनुहोस्