२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


तीन वर्षपछि रुम्जाटारबाट उडान सुरु


0
Shares

पूर्णप्रसाद न्यौपाने (इमेज)

ओखलढुंगा, जेठ १७ । ओखलढुंगाको रुम्जाटार विमानस्थलमा शुक्रबारदेखि नियमित उडान सुरु भएको छ ।

करिब तीन वर्षदेखि अवरुद्ध जिल्लाको एकमात्र विमानस्थल शुक्रबारदेखि पुनः सुचारु भएको हो ।

नेपाल एअरलाइन्सको विमानले शुक्रबार दिउँसो रुम्जाटारबाट उडान भरेको छ ।

हरेक शुक्रबार रुम्जाटारबाट उडान भर्ने योजनाका साथ हवाई सेवा सुरु गरिएको नेपाल एअरलाइन्सका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी बताए ।

अहिले सातामा एक दिन सेवा दिने र यात्रीको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भरिने प्रबन्धक पुरीको भनाइ छ ।

उनकाअनुसार हरेक शुक्रबार काठमाडौं–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने नेपाल एअरलाइन्सको तयारी छ ।

पहिलो दिन काठमाडौंबाट यात्री लिएर आएको विमान फेरि काठमाडौं नै फर्किएको छ ।

रुम्जाटारबाट विराटनगर जाने कार्यसूची भएपनि कोही यात्री नभएकाले विमान सीधै काठमाडौं फर्किएको हो ।

रुम्जाटार विमानस्थलमा कालोपत्र भएको लामो समयपछि शुक्रबार पहिलोपटक नेपाल एअरलाइन्सको विमान अवतरण गर्दा स्थानीयले भव्य स्वागत गरेका थिए ।

काठमाडौंबाट पहिलो उडानमा यात्री बनेका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङलगायतलाई रुम्जाटारमा स्वागत गरिएको थियो ।

विमानस्थल कालोपत्र नभएका कारण वि.सं. २०७० सालअघिसम्म हिउँदमा विमान अवतरण भएपनि वर्षात्को समयमा बन्द हुने गर्थ्यो ।